मकवानपुर प्रहरीले दैनिकजसो विभिन्न प्रकारका लागूऔषधसहित ओसारपसारमा संलग्न मानिस पक्राउ गरिरहेको छ । हेटौंडा बजार प्रवेश गर्ने दक्षिणी नाका रातोमाटे चेकपोष्टबाट धेरैजसो प्रहरीले विभिन्न प्रकारका लागूऔषध बरामद गर्ने गरेको छ । यस्तै, बजारको बसपार्क क्षेत्रबाट पनि लागूऔषध बरामद हुँदै आएको छ । भीमफेदी तथा मनहरी गाउँपालिकाबाट भने लागूपदार्थ गाँजा बरामद हुने गरेको छ । हेटौंडा भएर लागूऔषध ओसारपसार धेरै हुने गरेको पाइन्छ । लागूऔषध नियन्त्रणमा मकवानपुर प्रहरीको सक्रियता अझ बढाउनु आवश्यक देखिएको छ । लागूऔषध नियन्त्रणका लागि प्रहरीमात्र सक्रिय भएर पनि हुँदैन । यसका लागि सामूहिक प्रयास आवश्यक पर्दछ । लागूपदार्थ उत्पादन, ओसारपसार, बिक्री वितरण र सेवन सबै चरणमा नियन्त्रणका लागि स्थानीय, प्रदेश र संघीय सरकार र सुरक्षा संयन्त्र, राष्ट्रसेवक, नागरिक समाज, राजनीतिक नेतृत्व, सर्वसाधारण सबैको साझा चासो र प्रयास हुनुपर्छ ।
लागूऔषध तथा लागूपदार्थसहित प्रायःजसो भरिया र सेवनकर्तामात्र पक्राउ हुन्छन् । यसका उत्पादन तथा बिक्री वितरणमा संलग्न गिरोह पक्राउ पर्दैनन् । यसले लागूऔषधको कारोबार कम हुन सकेको छैन । गाँजा, अफिम र चरेसजस्ता केही लागूपदार्थको उत्पादन देशभित्रै हुने गरेको भए पनि अन्य लागूऔषध विदेशबाट भित्रिने गरेको छ । विशेषगरी नेपाल–भारतबीच रहेको खुला सीमा लागूपदार्थ ओसारपसारका लागि सहयोगी बनिरहेको छ । विश्वकै दुई ठूला अर्थतन्त्र र अत्यधिक जनसंख्या भएको देशको सीमा जोडिएका कारण नेपाल लागूपदार्थ ओसारपसारको ट्रान्जिट बन्ने गरेको छ । लागूऔषधको समस्यालाई निकै जटिल मान्दै रोकथामका लागि अन्तर्राष्ट्रिय जगतमा नेपालले पनि प्रतिबद्धता जाहेर गर्दै आएको छ । तर, दिनहुँ लागूऔषधसहित पक्राउ परेको समाचारले सरकारको प्रतिवद्धता निरर्थक देखिएको छ भने नेपाल र नेपालीलाई लज्जित बनाइरहेको छ ।
नेपालबाट गाँजा, चरेस भारत जाने र भारतबाट सेतो/खैरो हेरोइनका साथै त्यहाँ औषधिको मापदण्डमा परेका तर नेपालमा लागूऔषध दुव्यर्सनीहरुले प्रयोग गर्ने नुर्फिन, डाइजेपाम, लुप्रिजेसिक, फेनारगन, कोरेक्सजस्ता सुई, ट्याब्लेट, सिरप अत्यधिक मात्रामा भित्रिने गरेको छ । वीरगञ्ज र आसपासका नाकाबाट बारा, पर्सा, मकवानपुर, धादिङ जिल्लाहरुमा खेती हुने गाँजा तथा अफिम निकासी र भारतबाट लागूऔषध पैठारी बढी हुने गर्दछ । यसको नियन्त्रणका लागि समयसमयमा दुबै देशका सीमा क्षेत्रका सुरक्षा अधिकारीहरुले केही चासो देखाउने गरेको भए पनि कार्यान्वयनमा इमान्दार नबन्दा लागूऔषध नियन्त्रण हुन सकेको छैन ।
लागूऔषध दुर्व्यसनी एउटा देशको मात्र समस्या होइन । सबै देशका व्यक्तिहरु लागूऔषध दुर्व्यसनको शिकार बन्ने गरेका छन् । लागूपदार्थ दुर्व्यसनको शिकार जो पनि हुन सक्छ । युवा पिँढीमा दुर्व्यसनको शिकार हुने सम्भावना बढी देखिन्छ । नयाँ कुरा गर्ने, सिक्ने, अनुभव लिने चाहना र साथी संगतको लहलहैमा लाग्ने स्वभावका कारण किशोर तथा युवाअवस्थाका व्यक्तिहरु बढीजसो दुर्व्यसनको शिकार बनेका छन् । देशका युवा शक्ति दुर्व्यसनमा फस्दै जाने हो भने भविष्य के होला ? यसतर्फ सम्बद्ध पक्ष गम्भीर हुन जरुरी छ । त्यसैले लागूपदार्थ ओसारपसार नियन्त्रणका लागि विभिन्न देशहरुबीच साझा चासो र सक्रियता आवश्यक पर्दछ । नेपाल–भारतबीच हुने लागूपदार्थ ओसारपसार नियन्त्रणका लागि दुबै देशका सरकार र सुरक्षा निकाय गम्भीर बन्नु आवश्यक छ ।











