Home मुख्य समाचार बकैया गाउँपालिकाको सुधा—गडुवान सडकखण्ड स्तरीकरणको कार्य सुरु

बकैया गाउँपालिकाको सुधा—गडुवान सडकखण्ड स्तरीकरणको कार्य सुरु

हेटौंडास्थित एक पेट्रोल पम्पमा सुधा–गडुवान सडक निर्माणमा प्रयोग हुने स्काभेटरका लागि आवश्यक डिजल सडक निर्माणस्थलतर्फ लैजान भर्दै ।

हेटौंडा, ८ बैशाखः लक डाउनले देश ठप्प प्रायः भइरहँदा मकवानपुरको पुर्वि क्षेत्र बकैया गाउँपालिकामा भने सडक स्तरीकरणको कार्य सुरु भएको छ । बकैया गाउँपालिका वडा नम्बर ६ को सुधादेखि गडुवानसम्म करिब १९ किलोमिटर सडक स्तरीकरणको कार्य शनिबारदेखि सुरु भएको छ । वडाको सुधाबाट ज्यामिरे, गवरस्थान हुँदै गडुवानसम्म सडक स्तरीकरणको कार्य सुरु भएको हो । गडुवानसम्म सडकको स्तरीकरणपछि बारा जिल्लाको रतनपुर जोडिनेछ । सडक निर्माणका लागि २ वटा स्काभेटर प्रयोग गरिएको छ । गाउँपालिकाको ५० लाख र बागमती प्रदेश सरकारको ५० लाख गरी १ करोड बजेटमा सडक निर्माणको कार्य भइरहेको हो ।
सुधा–गडुवान सडकलाई गाउँपालिकाले गौरवको योजनाको रुपमा लिएको र फ्रिज हुने बजेटलाई सदुपयोग गरिएको गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले जानकारी दिनुभयो । सडकको कार्य बैशाख ४ गते एएचपि कन्स्ट्रक्सनसँग सम्झौता भएर बैशाख ६ गते शनिबारबाट काम सुरु भएको कन्स्ट्रक्सनका प्रबन्धक चन्द्र कुमार राईले जानकारी दिनुभयो । सडक निर्माण कार्य असार १० गते सकिने गरी सम्झौता भएको छ । २० किलोमिटर सडक निर्माण कार्यमा खटाइएको २ वटा स्काभेटर प्रयोग भइरहेको प्रबन्धक राईले बताउनुभयो । दुबै स्काभेटरमा एकजना अपरेटर र एकजना सहयोगी गरी २/२ जना मात्र कार्यक्षेत्रमा खटिएको बताइएको छ ।
सुधा–गडुवान सडकखण्डको स्तरीकरणको क्रममा ६ मिटरदेखि १० मिटर सडक फराकिलो गर्ने क्रममा करिब २ किलोमिटर क्षेत्रमा पहाड काट्नुपर्ने छ भने हेम पाइप राखेर कल्भर्ड निर्माण गर्ने, नाला, मेसिनरीवाल पनि निर्माण गर्नुपर्ने छ । सडकस्तरीकरणपछि वर्षा मौसममा पनि यातायातका साधन चल्नेछ । यसअघि वर्षामा सुधादेखि गडुवानतर्फ यातायातका साधन चल्न कठिनाई हुने गरेको थियो ।

Exit mobile version