विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि चाडपर्वको बेलामा सार्वजनिक यातायातका यात्रुसँग मनलाग्दी भाडा उठाइएको छ । हरेक वर्ष दशैं, तिहारजस्ता महत्वपूर्ण चाडपर्वको बेलामा सार्वजनिक यातायात साधनले मनोमानीरुपमा यात्रुसँग भाडा उठाउने परम्परा यसवर्ष पनि कायमै रह्यो । विजया दशमीअगाडि काठमाडौंबाट देशका विभिन्न भागमा जाने र विजया दशमीपछि काठमाडौं जाने यात्रुहरु सवारी साधनको भाडामा ठगिने गरका छन् । काठमाडौंबाट कुलेखानी हुँदै हेटौंडा तथा अन्य ठाउँमा चल्ने सुमो सेवाले पनि यात्रुहरुसँग मनलाग्दी भाडा असुल गरिरहेको समाचार सार्वजनिक भइरहेका छन् । विजया दशमीअघि काठमाडौंबाट हेटौंडा आउने यात्रुको संख्या उच्च हुने र विजया दशमीपछि काठमाडौं जाने यात्रुको चाप बढी हुने कारण टाटा सुमोले यात्रुसँग बढी भाडा असुल्ने क्रम हरेक वर्ष झैं यस वर्ष पनि चलिरहेकै छ ।
नेपालमा सडक यातायातको विकल्प हवाइ यातायात हो । सबैतिर हवाइ यातायातको पहुँच नभएको, हवाइ यातायातको संख्या सिमित भएको र भाडादर तुलनात्मकरुपमा महंगो भएका कारण आम सर्वसाधारणमा सडक यातायातको विकल्प छैन । सबैको सहज पहुँचमा रहेको र सबैले प्रयोग गर्ने सडक यातायात पनि यात्रुमैत्री हुन सकेको छैन । यात्रुबाहक सार्वजनिक सवारी साधनप्रति धेरै गुनासाहरु रहने गरेका छन् । सवारी साधन पुरानो हुनु, भरपर्दाे सेवा नहुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु, चालक तथा सहचालकको बोली र व्यवहार मैत्रीपूर्ण नहुनु, मनलाग्दी भाडा लिनु जस्ता गुनासो सार्वजनिक सवारीप्रति यात्रुको रहने गरेको छ । यही अवस्थामा पनि चाडपर्वको बेलामा सवारी साधन प्रयोग गर्न नपाउनु आम यात्रुका लागि अर्को समस्या बनिरहेको छ ।
चाडपर्वको समयमा हुने चहलपहल तथा आवतजावतका कारण सार्वजनिक यातायातका क्षेत्र धेरै चलायमान हुने गर्दछ । दशैं, तिहारको समयमा टाढा–टाढा जागिर तथा व्यवसायका लागि बसोबास गरेकाहरुसमेत आफ्नो गाउँ–घर, आफन्तकहाँ तथा घुमघाममा जाने गर्दछन् । राजधानी एवम् ठूला शहरबाट साना शहर एवम् गाउँतर्फ यात्रुको चाप बढ्ने यस्तो समयमा सार्वजनिक यातायातको भाडामा मनोमानी गरिनेक्रम वर्षेनि दोहोरिने गरेको छ । एकतर्फीमात्र यात्रुको चाप हुने समयमा एक–दुईपटक बढी भाडा लिएरै भए पनि यात्रुलाई सेवा दिनुलाई परिस्थितिजन्य अवस्थामा मान्न सकिए पनि घटस्थापनादेखि छठ पछिसम्म पनि दिनहुँ यात्रुसँग बढी भाडा असुल्नुलाई कुनै हालतमा स्वभाविक मान्न सकिँदैन । हेटौंडा–काठमाडौं चल्ने टाटा सुमोहरुले अहिले पनि दुईतर्फी यात्रुसँग नै दुई गुनासम्म भाडा असुल गर्दै आएको गुनासोपछि शुक्रबारमात्रै मकवानपुर प्रहरीले बढी भाडा असुलिरहेका ५ जनालाई पक्राउ गरेको छ ।
चाडपर्वको बेलामा सुमोहरुले यात्रुसँग बढी भाडा असुलिरहेको कुरा प्रहरीलाई पनि थाहा छ । यात्रुलाई टिकट नै नदिने, टिकट दिए पनि प्रचलित भाडादरको टिकट दिने कारण प्रहरीले पनि कारबाहीको लागि प्रमाण जुटाउन सकिरहेको छैन । चाडबाडको समयमा बढी भाडा लिने सुमोलगायत सार्वजनिक सवारीलाई कारबाही गर्न प्रहरीले विशेष अभियान नै चलाउनुपर्ने देखिन्छ । हरेक सवारी साधनलाई काउण्टरबाट मात्र हरेक यात्रुको टिकट बनाएर छुटाउने, प्रत्येक काउण्टरमा प्रहरी खटाएर यात्रु चलानीमा प्रमाणीकरण गर्ने र बाटोका प्रहरी चेकपोष्टले त्यस्ता चलानी र टिकट चेक गर्ने हो भने धेरै हदसम्म यस्तो अनियमितता कम गर्न सकिन्छ । साथै, सादा पोशाकका प्रहरीलाई यात्रुको रुपमा परिचालन गरेर पनि बढी भाडा असुल्नेलाई पक्राउ र कारबाही गर्नुपर्नेतर्फ प्रहरी प्रशासनको ध्यान जानु आवश्यक छ ।











