हेटौंडाः आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारहरुले सामाजिक संजालबाट गरिएको चुनावी प्रचारप्रसार खर्चको विवरणसमेत निर्वाचन आयोगमा बुझाउनुपर्ने भएको छ । निर्वाचन आयोगले सोमबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालबाट गएिको खर्चको विवरण पनि चुस्तदुरुस्त राख्न राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

दल वा उम्मेदवारले सामाजिक सञ्जाल प्रयोग गरी गरेको प्रचार (विज्ञापन)लाई निर्वाचन खर्चमा समावेश गर्नुपर्ने भएको हो । सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानुनबमोजिम पेश गर्नुपर्नेछ । निर्वाचन खर्च विवरणमा सामाजिक संजालको खर्च विवरण समावेश गरे वा नगरेको अनुगमन र परीक्षणसमेत गरिने आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १६ मा राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन खर्चसम्बन्धी पालना गर्नुपर्ने आचरणहरुको व्यवस्था गरिएको छ ।