हेटौंडाः आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ महिलाको उम्मेदवार न्यून रहेको छ । निर्वाचनमा महिलाको समान सहभागिताको लागि महिलाहरुले आवाज उठाउँदै आएपनि निकै कम मात्र महिलाले प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् ।
मकवानपुरमा आइतबार भएको मनोनयन दर्तामा प्रमुख राजनीतिक दलबाट दुई जनामात्र महिलाको उम्मेदवारी परेको छ । प्रत्यक्षतर्फ महिलालाई उम्मेदवारी दिन दलहरुले गर्ने कञ्जुस्याइँ यस पटकको निर्वाचनमा पनि दोहोरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष निर्वाचनमा मकवानपुरबाट जम्मा ८ जना महिलाले मात्र उम्मेदवारी दर्ता गराएका छन् । यसमा पनि राजनीतिक दलबाट जम्मा ३ जनाको उम्मेदवारी परेको छ भने ५ जना महिलाहरुले स्वतन्त्ररुपमा आफ्नो मनोनयन दर्ता गराएका छन् ।
प्रत्यक्ष निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभा गरी मकवानपुर जिल्लामा ६९ जनाको उम्मेदवारी परेको छ । यसमध्ये प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नम्बर १ र २ बाट २६ जनाले उम्मेदवारी दिएकोमा महिलाको संख्या जम्मा एक जनामात्र रहेको छ । प्रतिनिधिसभातर्फ प्रत्यक्ष उम्मेदवारी दिनेमध्ये ३ दशमलब ८ प्रतिशतमात्र महिलाको उम्मेदवारी परेको हो ।

यसैगरी प्रदेशसभाका लागि ४३ जनाको उम्मेदवारी परेकोमा ७ जनामात्र महिलाले मनोनयन दर्ता गराएका छन् । जसमा ५ जना महिलाले स्वतन्त्ररुपमा उम्मेदवारी दर्ता गराएका हुन् । प्रदेशसभाका लागि प्रत्यक्ष निर्वाचनतर्फ भने १६ प्रतिशत महिलाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको तर्फबाट महालक्ष्मी उपाध्याय डीनाले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै, क्षेत्र नम्बर २ मा राजनैतिक दल र स्वतन्त्रबाट गरी जम्मा १० जनाको उम्मेदवारी परेकोमा महिला मनोनयन भएका छैनन् । यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा महिला उम्मेदवार छैनन् भने क्षेत्र नम्बर १ (ख) मा पनि राजनीतिक दलबाट महिला उम्मेदवार छैनन् । मकवानपुर क्षेत्र नम्बर १ (ख) मा लक्ष्मी गुरुङ, निर्मला गौतम, कमला गौतम र लक्ष्मी अधिकारी लामिछानेले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
त्यसैगरी, प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (क) मा २ जना महिलाले मनोनयन दर्ता गराएका छन् । निर्वाचनका लागि नेकपा माओवादी केन्द्रबाट कुमारी मोक्तान र नेपाल मजदुर किसान पार्टीबाट गंगालक्ष्मी बैद्यले मनोनयन दर्ता गराएका छन् । यस्तै, क्षेत्र नम्बर २ (ख) मा शान्ति दाहालले स्वतन्त्ररुपमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।
संविधानले प्रतिनिधिसभा र प्रदेशसभामा कम्तिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । तर, प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि आइतबार मनोनयन गराएका देशभरीका उम्मेदवारमध्ये नौ प्रतिशत हाराहारीमात्रै महिला छन् । प्रमुख राजनीतिक दलहरुमा महिला उम्मेदवारको हिस्सा झनै न्यून छ । उम्मेदवार चयनको प्रक्रिया सुरु नहुँदै महिला नेताले सडकदेखि सदनसम्म प्रत्यक्ष निर्वाचनमा महिलाको प्रतिनिधित्व बढाउनुपर्ने सवाल उठाउँदै आएका थिए ।
निर्वाचन आयोगको विवरणअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १ सय ६५ सिटमा देशभरबाट दुई हजार ५ सय २६ जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये महिला उम्मेदवारको संख्या २ सय ३५ मात्रै छ । प्रदेशसभाको प्रत्यक्षतर्फ ३ सय ३० सिटमा तीन हजार ४ सय ७६ जनाको उम्मेदवारी परेकामा महिला २ सय ९७ जनामात्रै छन् । कुल उम्मेदवारमध्ये महिलाको संख्या प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ९ दशमलब ३ प्रतिशत र प्रदेशसभामा ८ दशमलब ५४ प्रतिशत रहेको छ ।
महिलालाई समान सहभागिता भन्ने नारा राजनीतिक दलले भाषणमा मात्र सिमित गरेका छन् । संसदमा महिलाको उपस्थिति एक तिहाई पुर्याउन राजनीतिक दलहरुले समानुपातिकबाटै महिला ल्याउनुपर्ने भएको छ ।










