आफ्नो प्रस्तुति देखाउँदै विद्यार्थीहरु ।

हेटौंडाः हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरुले आज बिहीबार विद्यालयमा चण्डी पाठ गरेका छन् । विद्यालयको आयोजनामा विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा विद्यालयका १३ जना विद्यार्थीहरुले १/१ अध्याय चण्डी पाठ गरेका हुन् ।

कार्यक्रममा चण्डी पाठको साथै विजया दशमीमा गरिने विभिन्न क्रियाकलापहरुसमेत प्रस्तुत गरिएको थियो । विद्यालयका नेपाली विषयका सुपरिवेक्षक सिएम रिमालले मुल पण्डितको भूमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रममा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले गायन, नृत्य प्रस्तुत गर्नुका साथै वातावरणसम्बन्धी नाटकसमेत प्रस्तुत गरेका थिए । धार्मिक संस्कृतिको जगेर्ना गर्न र विद्यार्थीलाई चाडपर्वको बारेमा जानकारी गराउने उद्देश्यले विद्यालयले हरेक वर्ष कार्यक्रम गर्दै आइरहेको छ ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल सकुन्तला जोशीको अध्यक्षता र विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीको प्रमुख आतिथ्यता रहेको थियो ।