हेटौंडाः भूटनदेवी माध्यमिक विद्यालय(प्राविधिक शिक्षालय) ले आज आइतबार विजयादशमी, शुभदिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा साँस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा विद्यालयका ३ जना शिक्षक र एक जना कर्मचारीलाई सम्मान गरिएको छ ।
कार्यक्रममा ३ दशकभन्दा बढी माध्यमिक तहमा नेपाली विषय अध्यापन गरी निवृत्त हुुनुभएका विष्णुप्रसाद गौतमलाई दीर्घसेवा पत्रद्वारा सम्मान गरिएको छ । यस्तै, ५ वर्षभन्दा बढी निम्न माध्यमिक तहमा गणीत विषय अध्यापन गरेर सरुवा हुनुभएका राजकुमार यादवलाई सम्मान गरिएको छ । त्यसैगरी, लामो समयदेखि प्राथमिक तहमा अध्यापन गर्नुभएका देवकी लामिछानेलाई शैक्षिक अवकासबाट सम्मानित गरिएको छ । लेखा शाखाका कर्मचारी फणिदेव कौडेनीयालाई दीर्घसेवा पत्रद्वारा सम्मानित गरिएको छ । कार्यक्रममा सम्मानित भएकाहरुलाई शिक्षण कल्याणकारी कोषको रकम पनि प्रदान गरिएको थियो ।
भूटनदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक माधव दाहालको सभाध्यक्षमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फूर्वादोर्जे लामाको प्रमुख आतिथ्य रहेको थियो । विजयादशमी, शुभदिपावली, नेपाल संम्वत तथा छठ पर्वको शुभकामना व्यक्त गर्नुहुँदै लामाले विद्यार्थीको प्रतिभालाई अतिरिक्त क्रियाकलापमार्फत् बाहिर ल्याउन सहयोग पुग्ने बताउनुभयो । जसले गर्दा विद्यार्थीको शैक्षिक विकासमा समेत सहयोग पुग्ने उहाँको भनाई छ । कार्यक्रममा विद्यार्थीले गायन, नृत्य प्रस्तुत गरेका थिए ।
विद्यालयका सहायक प्रधानाध्यापक भरत पोख्ररेलले स्वागत मन्तव्य राख्नुभयो । उहाँले २०१६ सालदेखि पठनपाठन सुुरु भएको सबैभन्दा पुरानो विद्यालय भूटनदेवी रहेको बताउनभुयो । विद्यार्थीको आन्तरिक प्रतिभालाई प्रष्टफुटन गर्न अतिरिक्त क्रियाकलाप अन्तर्गत साँस्कृतिक कार्यक्रम आयोजना गरेको बताउनुभयो । विद्यालयले गरेको हरेक क्रियाकलापका कारण विद्यार्थीको संख्या बढिरहेको उहाँको भनाई छ । हाल भूटनदेवी माविमा १ हजार ७ सयभन्दा बढी विद्यार्थी विद्यालयमा अध्ययनरत् रहेका छन् । कार्यक्रममा अभिभावक संघका अध्यक्ष नारायणप्रसाद तिमल्सिनाको विशेष आतिथ्य रहेको थियो ।