गुगल तस्विर ।

हेटौंडाः बागमती प्रदेशमा विभिन्न घटनामा परि २ जनाको ज्यान गएको छ । शनिबार सवारी दुर्घटना र खोलाले बगाएर दुई जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

काभ्रेको धुलीखेल नगरपालिका–५ मा खोलाले बगाउँदा एक बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा रमेश लामिछानेको ११ वर्षीय छोरा रिजन लामिछानेको मृत्यु भएको हो । पुण्यमाता खोलामा रहेको काठको पुलबाट खोला तर्ने क्रममा रिजन चिप्लेर खोलामा खसेका थिए । खोलाले अन्दाजी ५ सय मिटर बगाएको भन्ने खबर प्राप्त हुना साथ तत्काल स्थानिय बासीहरु र प्रहरी टोली खटिएर खोजतलास गरिएको थियो । पनौती नगरपालिका–५ छाला कारखाना अगाडी फेला पारी उपचारको लागी सिरमेमोरीयल अस्पताल बनेपामा उपचार गर्ने क्रममा ६ बजेर २० मिनेटको समयमा डाक्टरले रिजनलाई मृत्यु घोषणा गरेको हो ।

सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकाली मन्दिर नजिक मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी जिल्ला हनुमाननगर नगरपालिकाका २२ वर्षीय कैलाश मण्डल रहेको प्रहरीले जनाएको छ । बि.पि.राजमार्गमा काठमाडौंबाट सप्तरीतर्फ जाँदै गरेको प्रदेश २–०१–०३३ प ११०० नम्बरको मोटरसाइकल ओभर स्पिडको कारण अनियन्त्रित भई सडकबाट ५ सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा मण्डलको दाहिने तिघ्रा ढाड र टाउकोमा गम्भीर चोट लागेको थियो । मण्डललाई जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा ९ बजे डाक्टरले मृत्यु घोषणा गरेको हो ।