हेटौंडाः हेटौंडामा शनिबार मिडियाको जवाफदेहिताबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालको आयोजना तथा पत्रकार महासंघ मकवानपुरको सहकार्यमा मिडियाहरुको जवाफदेहिता विषयक छलफल भएको हो ।
छलफल कार्यक्रममा सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, मानव अधिकारकर्मी, अधिवक्ता, गैरसरकारी क्षेत्रका प्रतिनिधिहरुको सहभागिता थियो । सञ्चार क्षेत्रको काम कस्तो पाइएको छ, सञ्चारगृहहरु जनताप्रति कतिको जवाफदेही छन् भन्ने विषयमा छलफल गरिएको थियो ।
छलफलमा सेवाप्रदायकलाई जवाफदेही बनाउन कस्तो खालको भूमिका रहने, सञ्चार क्षेत्रको जवाफदेहिताका लागि राज्यले आगामी दिनमा के गर्नुपर्छ र सञ्चार जगतका असल अभ्यास र सुधार गर्नुपर्ने पक्षमाथि छलफल तथा अन्तरक्रिया गरिएको थियो । मानव अधिकार सञ्चाल प्रतिष्ठानका सहजकर्ता यज्ञविक्रम शाहीले सहजीकरण गर्नुभएको कार्यक्रममा पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमको अध्यक्षता रहेको थियो ।