पत्रकारसँगको अन्तरक्रियापश्चात् सामुहिक तस्विर खिचाउँदै ।

हेटौंडाः लैंङ्गिक अल्पसंख्यक समुदाय आम निर्वाचनमा उम्मेदवार दिनबाट वञ्चित रहेको पाएको छ । लैङ्गिक पहिचानमा “अन्य” भनेर नागरिकता लिएकै आधारमा उम्मेदवारी दिनबाट वञ्चित रहेको पाइएको हो ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक भएकै कारण आम निर्वाचनमा उम्मेदवार हुन नपाएको ब्लु डायमण्ड सोसाइटीका कार्यक्रम संयोजक पिटर तामाङले बताउनुभयो । संविधानले नै हरेक नागरिकलाई लैंङ्गिक अधिकार सुनिश्चित गरेको छ, तर निर्वाचन आयोगले भने “अन्य” लिङ्गबाट नागरिकता लिएकाहरुलाई आम निर्वाचनमा उम्मेदवार बन्नबाट रोक लगाएको उहाँले जानकारी दिनुभयो ।

संचारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा कार्यक्रम संयोजक तामाङले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले भोगिरहेका समस्या र समुदायको अधिकार प्राप्तिका लागि भइरहेका कामहरुको बारेमा जानकारी गराउनुभएको थियो । संविधानमा उल्लेख गरिएको अल्पसंख्यकको परिभाषामा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई समेटिनुपर्ने र कानूनमा पनि सो विषय स्पष्ट गर्नुपर्ने उहाँले बताउनुभयो ।

ब्लु डायमण्ड सोसाइटी र फ्रेन्ड्स हेटौंडाको आयोजनामा भएको अन्तरक्रियामा यौनिक तथा लैंङ्गिक अल्पसंख्यक अधिकारकर्मीहरुले आफूहरुको अधिकार प्राप्तिको आन्दोलनमा पत्रकारहरुको सहयोगको अपेक्षा गरेको बताएका छन् । संविधानमा उल्लेख गरिएका अधिकारहरु पनि प्राप्त गर्न नसकेको भन्दै सहयोगको अपेक्षा गरिएको हो । संविधानअनुसार कानून निर्माण गरी कार्यान्वयनका लागि राजनीतिक दलहरुलाई दबाब दिन पत्रकारिता क्षेत्रले भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।

पत्रकारिता क्षेत्रको सचेतनामूलक प्रचारप्रसारका कारण यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समुदायको अधिकार प्राप्तिमा बल पुगेको ब्लु डाइमण्ड सोसाइटीका किरण थापाले स्मरण गर्नुभयो । नेपालका राजनीतिक दलहरुले आफ्नो विधान तथा घोषणापत्रमा यौनिक तथा लैंङ्गिक अल्पसंख्यकको विषयमा कतै पनि सम्बोधन नगरेको भन्दै दुःख व्यक्त गर्नुभयो । लैंङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको रोजगार, गाँस, बास, कपास, स्वास्थ्य र शिक्षामा समान अवसरका लागि सबैले ध्यान केन्द्रित गर्नुपर्ने उहाँले बताउनुभयो ।