हेटौंडाः मकवानपुरमा पछिल्लो २४ घण्टामा २७ जनालाई डेंगु संक्रमण देखिएको छ । आज शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले डेंगु संक्रमितहरुको संख्या सार्वजनिक गर्दै हेटौंडा उपमहानगरपालिकाको एक जनाको डेंगु संक्रमणका कारण मृत्यु भएको उल्लेख गरेको छ ।
२४ घण्टामा हेटौंडा उपमहानगरपालिका भित्र २४ जना संक्रमित भएका छन् । हालसम्म जिल्लामा २ हजार १ सय ३५ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा १ हजार ९ सय ५६ जनामा संक्रमण देखिएको छ । जसमा पुरुष एक हजार १ सय १२ जना पुरुष र ८ सय ४४ जना महिला संक्रमित भएका थिए । यस्तै, भीमफेदी गाउँपालिकामा २ जना र मनहरी गाउँपालिकामा एक जनालाई डेंगु संक्रमण देखिएको छ ।
हालसम्म थाहा नगरपालिकामा ३७ जना, मकवानपुर गढीमा ३७ जना, बागमती गाउँपालिकामा ३ जना, कैलाश गाउँपालिकामा १ जना, मनहरी गाउँपालिकामा ६८ जनामा संक्रमण देखिएको छ । यस्तै, भिमफेदी गाउँपालिकामा १६ जना, बकैया गाउँपालिकामा १२ जना, राक्सीराङमा एक जना र ठेगाना नखुलेको ४ जनामा संक्रमण देखिएको हो । इन्द्रसरोबर गाउँपालिकामा भने हालसम्म संक्रमण देखिएको छैन ।