हेटौंडा अस्पतालको इमर्जेन्सी वार्डको बेड भरिएपछि भुइँमै उपचार गरिँदै ।

हेटौंडाः मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा बिहीबार दिउँसो बस दुर्घटनामा परी गम्भीर घाइते एकजनाको मृत्यु भएको छ । भीमफेदी गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य चौकीमा उपचारको क्रममा थप एकको मृत्यु भएसँगै मृतकको संख्या ७ पुगेको छ । दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

काठमाडौंबाट वीरगन्ज जानका लागि बल्खुबाट फर्पिङ कुलेखानी हुँदै हेटौंडातर्फ आउँदै गरेको ना ३ ख ७८५८ नम्बरको मिनीबस भीमफेदी–६, जुरिखेतमा बिहीबार दिउँसो साढे २ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन । प्रहरीले घाइतेको विवरण संकलन गरिरहेको जनाएको छ । घाइतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । बसका अधिकांश यात्रु भारतीय नागरिक छन् ।