हेटौंडाः काठमाडौं जिल्लाको फर्पिङबाट मकवानपुरको भीमफेदीसम्मको सडकखण्ड साना गाडीका लागि मात्रै उपयुक्त छ । साना सवारी साधन चल्ने यो रुटमा नियमितरुपमा मिनीबस पनि चल्ने गरेको छ । नियमित चल्ने मिनीबस बाहेक अनधिकृतरुपमा अन्य रुटमा चल्ने भाडाका मिनीबस, साना सवारी साधन पनि यो रुट चल्ने गर्छ ।

चाडपर्वको बेला यात्रुको चापका कारण चालकको लोभ र प्रहरीको बेवास्ताका कारण नयाँ सवारी साधन र चालकका कारण दुर्घटनाको जोखिम रहन्छ । बिहीबार दिउँसो भीमफेदी–६, जुरिखेतमा भएको दुर्घटना पनि फर्पिङ–भीमफेदी सडकखण्डका लागि नयाँ साधनको रुपमा रहेको मिनीबस र प्रहरीको बेवास्ताका कारण भएको देखिन्छ । दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।
बनेपा–नेपालथोक चल्ने ना ३ ख ७८५८ नम्बरको मिनीबस ३२ जना यात्रु लिएर काठमाडौंबाट बीरगन्ज जान नयाँ बाटो अर्थात् फर्पिङ–भीमफेदी सडकखण्डको प्रयोग गर्ने क्रममा दुर्घटनामा परेको हो । बनेपा–नेपालथोक चल्ने मिनीबस जोखिमपूर्ण बाटोमा प्रवेश गर्दा प्रहरीले ध्यान नदिनु पनि दुर्घटना हुनुको अर्को कारण हो । काठमाडौंबाट फर्पिङ हुँदै मकवानपुरको सीमा–नाकासम्म आइपुग्न झण्डै आधा दर्जन प्रहरीको चेकपोष्ट पार गर्नुपर्छ । तर, प्रहरीले रुटभन्दा बाहिरको भाडाको गाडीको विषयमा निगरानी गर्न ध्यान नदिँदा दुर्घटना भएको हो ।

बसमा अधिकांश यात्रु भारतीय नागरिक थिए । दुर्घटनामा परी दुई बालक सामान्य घाइते भएका छन् । बसमा सहयोगीको रुपमा यात्रा गरिरहेका काभ्रेका हरि भुजेलका अनुसार बनेपा–नेपालथोक चल्ने बस ३२ जना यात्रु लिएर काठमाडौंबाट फर्पिङ–भीमफेदी हुँदै बीरगन्ज जान लागेको थियो । बसका चालक विष्णु स्याङ्तान रहेको भुजेलले जानकारी दिए । दुर्घटनामा मृतकको परिचय खुलेको छैन । घाइते मध्ये अधिकांशको हेटौंडा असपतालमा उपचार भइरहेको छ । घाइतेहरुको विवरण संकलन कार्य भइरहेको छ ।