पार्टीको मकवानपुर जिल्ला पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष उपेन्द्र यादव ।

हेटौंडाः जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उप्रेन्द्र यादवले संविधानको संरक्षकबाटै संविधानको उल्लङ्घन भएको बताउनुभएको छ । बुधबार हेटौंडामा आयोजित मकवानपुर जिल्ला पार्टी पुनर्गठन घोषणा कार्यक्रममा बोल्नुहुँदै यादवले संविधानको संरक्षक राष्ट्रपतिबाट नै संविधानको उल्लङ्घन भएको बताउनुभएको हो ।

संसदको दुवै सदनले पटक–पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लङ्घन गरेको जसपा अध्यक्ष यादवको आरोप छ । केपी शर्मा ओलीको सरकारले अध्यादेशमार्फत नागरिकता वितरण गर्ने प्रयास गरेकोमा सर्वोच्च अदालतले यो अध्यादेशबाट नभई कानुन बनाएर नागरिकता दिन भनेको उहाँले स्मरण गर्नुभयो । त्यही अध्यादेश केपी ओलीको सरकारले राष्ट्रपतिसमक्ष पठाउँदा तुरुन्त राष्ट्रपतिबाट प्रमाणीकरण भएर अध्यादेश जारी भएको उल्लेख गर्नुहुँदै त्यही अध्यादेशलाई हुबहु संसदको दुवै सदनले पटक–पटक पारित गरेर राष्ट्रपतिसमक्ष पठाउँदा राष्ट्रपतिले प्रमाणीकरण नगरेको उहाँले आरोप लगाउनुभयो । कानुनको विषयमा बोल्ने अधिकार, त्यसलाई फेरबदल गर्ने अधिकार र त्यसमा शब्दको हेरफेर गर्ने अधिकार संसदलाई हुने पनि स्पष्टले स्पष्ट पार्नुहुँदै राष्ट्रपतिको पछिल्लो कदमले संसदीय मर्यादा, लोकतन्त्र र नागरिकको अधिकारमाथि प्रहार भएको बताउनुभयो ।

उहाँले नेपालको संविधान संशोधन गर्न आवश्यकता रहेको बताउनुभयो । यादवले एउटा स्थानीय तहमा मात्रै करोडौं खर्च गर्नुपर्ने, हजारौं कर्मचारी खटाउनुपर्ने भएकाले अहिलेको निर्वाचन प्रमाणी अत्यन्त खर्चिलो रहेको बताउनुभयो । अर्थतन्त्रमा गिरावट आइरहेको बेला खर्चिलो निर्वाचन प्रणालीलाई बदल्नुपर्ने उहाँको भनाइ छ । उहाँले मुलुकको अर्थतन्त्रलाई सुधार गर्न कृषि, पर्यटन र जलविद्युत क्षेत्रको बढाउनुपर्ने बताउनुभयो । उहाँले अहिले जसपाले गठबन्धन गरेरै प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको तयारी गरिरहेको बताउनुभयो ।