हेटौंडाः नेपाली काँग्रेस मकवानपुरका सचिव भीमसेन महतले हेटौंडाको सडक १६–१६ मिटर बनाइने कुरा भ्रमको खेती रहेको दावी गर्नुभएको छ । बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गरेर महतले सरकारले हेटौंडा बजारको सडक ३२ मिटर बनाइने भने तापनि कानुन अनुसार ५० मिटरको नै सडक बन्ने बताउनु भयो ।
हेटौंडाबाट पूर्व र पश्चिममा पर्ने क्षेत्रहरुको अधिकांश ठाउँमा महेन्द्र राजमार्ग ५० मिटर विस्तार भइसकेको छ । महेन्द्र राजमार्ग विस्तारको चर्चा चल्ने, नाप–जाँच पनि गर्ने, सूचना जारी गर्ने र पुनः रोकिने गरेको महतले बताउनुभयो । सडक निर्माण बिगतको समयमा राजनीतिक पहुँचको आधारमा रोकिएको पनि उहाँको आरोप छ । समय–समयमा हेटौंडालाई मानव बस्ती घोषणा गर्नुपर्छ, १६ मिटर मात्र सडक विस्तार गर्नु पर्छ भन्ने विषय पनि उठिरहेको र बाइपास सडक बनाएर लिएर जानुपर्छ भन्ने कुरा पनि उठेको बताउँदै उचित मुआब्जा सरकारले दिएर सडक विस्तार गर्नु पर्छ भन्नेहरु पनि हेटौंडामा रहेको महतले बताउनुभयो ।
महेन्द्र राजमार्ग नेपाल सरकार अन्तर्गत रहेको र यसको आफ्नै ऐन भएकाले ऐनलाई कुल्चेर १४ मिटर, १६ मिटर कायम गर्ने भन्ने कुरा हावादारी गफ भएकाले यो सम्भव नै नभएको महतको भनाइ छ । हेटौंडामा १६ मिटर सडक विस्तार, हेटौंडालाई मानव बस्ती घोषणा र बाइपास सडक निर्माण सबै कुरा भ्रमको खेती भएको र यस्ता भ्रमको खेतीको पछि लाग्न महतले सुझाव दिनुभएको छ । सडक विस्तारलाई बढ्न दिएर उचित मुआब्जा दाबी गर्न उहाँले हेटौंडाका जनतालाई आग्रह समेत गर्नुभएको छ ।