हेटौंडाः उमेर समूहमा राष्ट्रिय टिमको सदस्य समेत रहेका ‘ए’ डिभिजन क्लबमा व्यावसायिक फुटबल खेलिरहेका मकवानपुरका रोहित कार्की अष्ट्रेलिया पुगेका छन् । अध्ययनका लागि एक साताअघि कार्की अष्ट्रेलिया गएका हुन् ।
व्यावसायिक फुटबल कमजोर बन्दै गएसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका मकवानपुरका खेलाडीहरु विदेश पलायन भइरहेका छन् । यसअघि ‘ए’ डिभिजन क्लबमै व्यावसायिक फुटबल खेलिरहेका एलन न्यौपाने पनि अष्ट्रेलिया पुगेका छन् । न्यौपाने उमेर समूहमा राष्ट्रिय टिमका सदस्य समेत रहिरसकेका थिए भने ‘ए’ डिभिजन क्लब थ्रीस्टार, मनाङ मस्र्याङ्दीबाट पनि खेलिसकेका छन् ।
कार्की पछिल्लो समय ‘ए’ डिभिजन क्लब संकटामा आवद्ध थिए । त्यसअघि उनी मच्छिन्द्र क्लबबाट पनि खेलेका थिए । अध्ययन भिसामा अष्ट्रेलिया गएको कार्कीले जानकारी दिएका छन् । हेटौंडा–२, पिपलबोटका कार्की अष्ट्रेलिया बसाईका क्रममा अष्ट्रेलियाको रोयल वेस्टर्न क्लबमा आवद्ध भएर फुटबलमा कायमै रहने जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को एकेडेमीमा २०१५ देखि ५ बर्ष बसेका कार्की उमेर समूहमा ताजकिस्तानमा भएको प्रतियोगितामा राष्ट्रिय टिम परेका थिए । कार्कीले राष्ट्रिय टिममै रहेर श्रीलंका, दुवई र इरानमा खेलिसकेका छन् । पहिलो एनएसएल लिगमा ललितपुर सिटी एफसीबाट खेलेका कार्की दोस्रो संस्करणको एनएसएलमा विराटनगर सिटी एफसीबाट खेल्ने तयारीमा थिए ।