डेंगु परीक्षण गर्ने किट हेटौंडा अस्पताललाई हस्तान्तरण गरिँदै ।

हेटौंडाः डेंगु संक्रमण भए नभएको परीक्षण गर्ने १ हजार १ सय ५० थान किट हेटौंडा अस्पताललाई हस्तान्तरण गरिएको छ । डेंगु संक्रमितको उपचारमा सहयोग पुर्‍याउन हेटौंडा उपमहानगरपालिकाले हेटौंडा अस्पताललाई मंगलबार किट हस्तान्तरण गरेको छ ।

किटको अभावका कारण उपचारमा समस्या भएको जनगुनासोपछि संक्रमितको उपचारमा सहयोग पुर्‍याउन हेटौंडा उपमहानगरपालिकाले किट उपलव्ध गराएको हो । हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रामचन्द्र सापकोटालाई किट हस्तान्तरण गर्नुभएको हो ।

किटको अभावमा डेंगुको आशंका लागेर अस्पतालमा उपचारका लागि आएका बिरामीको डेंगु परीक्षणमा समस्या भइरहेको थियो । हेटौंडा उपमहानगरपालिकाको सहयोगले ठूलो अर्थ राख्ने हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सापकोटाले बताउनुभएको छ । जनताले सेवा नपाएको गुनासोपछि अभाव देखिएको किटको जोहो गरेर उपचार सेवालाई सुचारु गर्न सहयोग गरेको हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख बानियाँले बताउनुभयो । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार अहिलेसम्म मकवानपुर जिल्लामा ७ सय २३ मानिसमा डेंगुको संक्रमण देखिएको छ । कार्यालयका प्रवक्ता लक्ष्मण घिमिरेका अनुसार बढि मात्रामा हेटौंडा बजार क्षेत्रको ४ र ५ नम्बर वडामा डेंगुका बिरामी पाइएको छ ।