मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना जगाएर मानव बेचबिखन तथा ओसारपसारका घटनामा न्यूनीकरण गर्ने उद्देश्यले नेपालमा प्रत्येक वर्ष मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस मनाउने गरिएको छ । यो वर्ष १६ औं मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस सोमबार विविध कार्यक्रम गरी मनाइयो । यस वर्षको दिवसको नारा ‘तीन तहको सरकार मानव बेचबिखनविरुद्धको सरोकार’ रहेको थियो । दिवसको अवसरमा सरकारी तथा गैरसरकारी स्तरबाट विभिन्न कार्यक्रम भएका छन् । सचेतनामूलक र्याली, अन्तरक्रिया, प्रदर्शनीजस्ता कार्यक्रमका साथै मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था तथा व्यक्तिलाई सम्मान गरेर यो दिवस मनाइएको छ । दिवसको अवसरमा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा मानव बेचबिखनविरुद्धको सञ्जालको आयोजनामा हेटौंडामा पनि प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
सन् २००२ मा काठमाडौंमा सम्पन्न सार्कको एघारौँ शिखर सम्मेलनबाट ‘महिला तथा बालबालिका बेचबिखनविरुद्धको सार्क महासन्धि, २००२’ पारित भयो । सार्क राष्ट्रहरुबीच यौन शोषणका लागि महिला तथा बालबालिका बेचबिखन गर्ने कार्यको बिरुद्घमा आपसी सहयोग तथा ऐक्यबद्धता जनाउन यो महासन्धि पारित गरिएको थियो । यो महासन्धिलाई २०६३ भदौ २० गतेका दिन तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन गरिएपछि सोही दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । २०६४ जेठ ११ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार सोही सालदेखि प्रत्येक वर्ष भदौ २० गतेका दिनबाट मनाउन थालिएको मानव बेचविखनविरुद्धको दिवस वर्षेनि विभिन्न कार्यक्रम गरेर मनाइन्छ ।
मानव बेचविखन तथा ओसारपसार एक बहुआयामिक, बहुक्षेत्रीय एवम् विश्वव्यापी समस्या हो । यसलाई जघन्य अपराधको रुपमा लिने गरिएको छ । नेपाल पनि मानव बेचबिखनको समस्याबाट अछुतो छैन । कुनै न कुनै रुपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरीत जबरजस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई मानव बेचबिखन भनिन्छ । मानव जीवनकै कलंकका रुपमा रहेको मानव बेचबिखन तथा ओसारपसार मुलुकको ठूलो सामाजिक समस्या बनेको छ । पछिल्लो समय वैदेशिक रोजगारीको नाममा सोझा नेपालीहरुलाई विभिन्न देशमा पुर्याई बेचबिखन गर्ने परिपाटी बढ्दै गएको छ । मानिसभित्र दानवीय व्यवहार हाबी हुँदा मानव बेचबिखन, बलात्कार, यौनजन्य हिंसालगायत थुप्रै समस्याहरुबाट मानिसहरु पीडित भइरहेका छन् ।
कमजोर आर्थिक तथा शैक्षिक अवस्था, चेतनाको कमी, बेरोजगारी, खुला सिमाना, छोटो समयमा धेरै पैसा कमाउने लोभजस्ता कारणले मानव बेचबिखन हुने गरेको पाइन्छ । यौन शोषण, दासता, मानव अंग प्रत्यारोपण, जोखिमपूर्ण श्रम, मनोरञ्जन, वैदेशिक रोजगारी तथा घरेलुलगायत विभिन्न शोषणजन्य कार्यहरुका लागि विशेषगरी महिला तथा बालबालिकाहरुको बेचबिखन बढि हुने गरेको छ । सरकारी तथा गैरसरकारी क्षेत्रबाट मानव बेचबिखन न्यूनीकरणका प्रयासहरु हुँदै आए पनि त्यसको प्रभावकारिता देखिएको छैन । मानव बेचबिखन एउटा डरलाग्दो समस्याका रुपमा रहेको छ । हरेक वर्ष मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस मनाउने गरिएको भए पनि त्यसले बेचबिखनको समस्या अन्त्य गर्न सकेको छैन । वर्षको एक दिन सामान्य औपचारिक कार्यक्रम गरेर दिवस मनाउँदैमा यस्ता समस्या समाधान हुन सक्दैन । मानव बेचबिखन अन्त्य गर्न तीनै तहका सरकारले वर्षैभरि प्रभावकारी कार्य गर्नु आवश्यक छ ।
