हेटौंडाः हेटौंडा अस्पतालको नवनिर्मित भवनबाट सेवा सुरु गरिएको छ । आइतबारबाट नयाँ भवनमा इमर्जेन्सी, ओपीडीलगायतका सेवा सुचारु भएको हो ।
नयाँ भवनमा टिकट काउन्टर, ल्याब, इमर्जेन्सी, फार्मेसी र ओपीडी सेवाहरु सुचारु भएको हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिनुभयो । स्त्री तथा प्रसुति रोग (गाइनो) र डेन्टलबाहेक ओपीडी सेवा नयाँ भवनमा सञ्चालन गरिएको उहाँले बताउनुभयो । ७० शैयाको स्वीकृति प्राप्त अस्पतालमा सेवाग्राहीको संख्या बढ्दै गएको छ । नयाँ भवनबाट सेवा सुरु गरेको पहिलो दिन टिकट काउन्टर, फार्मेसी, ल्याबदेखि इमर्जेन्सी सेवाहरुमा सेवाग्राहीको घुइँचो लागेको थियो ।

आइतबार इमर्जेन्सीमा २५ वटा बेडमा २५ जना नै बिरामी उपचाररत थिए । हेटौंडा नवलपुरका सुगरका बिरामी अमरराज पराजुलीले अस्पतालको पुरानो भवनबाट प्रदान हुँदै आएको सेवा र हाल नवनिर्मित भवनबाट प्रवाह भइरहेको सेवा उस्तै रहेको बताउनुभयो । अस्पतालको सेवा नयाँ भवनबाट सुचारु गर्नका लागि पुरानो भवनबाट दिइँदै आएको सेवा २–३ दिन बन्द गरिएका कारण आइतबार सेवाग्राहीको भिड बढेको उहाँले जानकारी दिनुभयो ।
नेवारपानीका डोल्मा तितुङले उपचारका लागि आइतबार बिहान १० बजेदेखि अस्पताल आएको जानकारी दिनुभयो । दिउँसो १ः३० बजेसम्म भिडियो एक्सरेमात्र भएको उहाँले बताउनुभयो । पिसाब जाँचका लागि टिकट काट्न लाइनमा बसेको उहाँले बताउनुभयो । पहिलो दिनमै इन्टरनेटमा समस्या भएका कारण टिकट काट्न रोकिएको बताइएको छ । नवनिर्मित भवनमा पहिलो पटक सुचारु भएको सेवासुविधा पहिलेको जस्तै रहेको उहाँको भनाइ छ ।
अस्पतालका अर्का सेवाग्राही कल्पना उप्रेतीले बसामाडीदेखि उपचारका लागि बिहान ७ः३० बजे अस्पताल आइपुगेको जानकारी दिनुभयो । पहिलो दिनमै डाक्टरहरु ढिला आएको उहाँले बताउनुभयो । इन्टरनेट सेवा बन्द भएका कारण सेवाग्राहीले सेवा सहजरुपमा लिन सकिरहेका छैनन् ।
निजी र सरकारी अस्पतालका सेवाग्राहीहरुलाई डाक्टरले फरक–फरक व्यवहार गर्ने गरेको आरोप उहाँले लगाउनुभयो । आफू निजी अस्पतालमा सेवा लिन जाँदा डाक्टरले के कस्तो भयो भनेर सहजरुपमा सेवासुविधा दिन्छन् तर, सरकारी अस्पतालमा सेवा लिन आउँदा त्यही डाक्टरले जवाफसमेत नफर्काउने गरेको उहाँको गुनासो छ ।
३० करोड रुपैयाँको लागतमा निर्माण भएको २ तल्ले भवनमा आइतबारदेखि सेवा सुचारु भएको हो । पुरानो भवनमा हुँदै आइरहेका सेवाहरु सहज वातावरणमा सेवाग्राहीलाई प्रदान गर्ने उद्देश्यले नयाँ भवन निर्माण गरिएको छ । यसअघि पुरानो भवनमा विभिन्न सेवासुविधा सञ्चालन भइरहँदा अस्पतालमा भ्रष्टाचार र बेथिति हुने गरेको आरोप लाग्ने गरेको छ । समयमा उपचार तथा सेवा नपाउँदा घण्टौं सेवाग्राहीले कुर्नुपरेको भन्दै नागरिकहरुले हेटौंडा अस्पतालको बिरोध गर्दै आएका छन् ।