तीज नेपाली महिलाहरुले मनाउने एउटा महत्वपूर्ण पर्व हो । पौराणिक कालदेखि चलिआएको परम्परागत पर्व तीजमा पछिल्लो समय विकृत बन्दै गएको छ । हरेक वर्ष तीज भड्किलो बनिरहेको छ । विशेषगरी तीज आउनुभन्दा हप्तौं अघिदेखि दर खाने र खुवाउने प्रचलनले यसलाई निकै खर्चिलो बनाइरहेको छ । धर्म, संस्कृति र चाडपर्वको नाममा समाजमा बढ्दै गएको यस्तो विकृतिले नकारात्मक प्रभाव बढाउँदै लगेको छ । तीजको अघिल्लो दिन चेलीहरु माइतीमा जम्मा भई बेलुका दर खाने संस्कृति अहिले फेरिएको छ । तीजको दर खाने र खुवाउने नाममा हप्तौं अघिदेखि महङ्गो भोज चलिरहेको छ । विभिन्न सरकारी कार्यालय, गैरसरकारी संघसंस्था, शैक्षिक संस्था, व्यावसायिक संगठन सबैतिर विकृतिपूर्ण दर संस्कृति चलिरहेको छ । होटल तथा पार्टी प्यालेसमा जम्मा भएर मदिरासहितका दर खाने प्रचलन बढ्दै गएको छ ।
हाम्रो पूर्वीय सनातन धर्म, संस्कृति एवम् मूल्य, मान्यताअनुसार महिलाहरु विवाहपश्चात् आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन बिताउने गर्दछन् । आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छाडी पराइघरमा जीवन बिताउँदा आउने माइतीको याद मेटाउने र माइतीसँगको पुनर्मिलनको एउटा महत्वपूर्ण अवसरको रुपमा तीज पर्वलाई लिने गरिएको छ । तीज आउन हप्तौं बाँकी हुँदादेखि नै तीज पर्व मनाउने नाममा अनावश्यक तडकभडक बढ्दै गएको छ । तीज नै सुरु नभई सामूहिकरुपमा दर खाने र खुवाउने, अनावश्यक गहना लगाउने तथा महंगा कपडा लगाउने प्रतिस्पर्धाले तीजलाई भड्किलो विकृत बनाउँदै लगेको हो । तीजको अवसरमा दर खुवाइनु नराम्रो पक्कै होइन । तर, त्यसलाई व्यवस्थित र मितव्ययी गर्नु भने जरुरी छ । अहिले खाने र खुवाउने अनि अनावश्यक गहना र पोशाक प्रदर्शन गर्ने नाममा विकृति बढेको स्पष्ट छ ।
भाद्र शुक्ल द्वितियादेखि पञ्चमीसम्म चार दिन तीज मनाइन्छ । तीजको मुख्य दिन भाद्र शुक्ल द्वितीयामा महिलाहरु व्रत बस्ने गर्दछन् । यसका लागि अघिल्लो दिन बेलुका मिठा र आडिला परिकारहरु बनाएर दरको रुपमा खाने गरिन्छ । भाद्र शुक्ल पञ्चमीको दिन विधिपूर्वक पञ्चमी स्नान गरी पूजा आराधना गरेर तीजको समापन गरिन्छ । तीजमा विशेषगरी भगवान शिवको पूजा आराधना गरिनुका साथै नाचगान, मनोरञ्जनसमेत गरिन्छ । नेपाली हिन्दू महिलाहरुद्वारा स्वतन्त्र र आनन्दमयरुपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरुले पनि मनाउने गरेका छन् । धार्मिक मान्यताअनुसार तीजमा ब्रत बस्नाले आफ्ना पतिलगायत परिवारजनको आयु लामो हुने विश्वास गरिन्छ । त्यसैगरी अविवाहिता महिलाले ब्रत बस्दा योग्य वर प्राप्त हुने विश्वास पनि गरिन्छ ।
तीजको धार्मिक महत्व जे जस्तो भए पनि यसको सामाजिक महत्व पनि उत्तिकै छ । तीजमा माइतीमा चेलीबेटीलाई बोलाइने तथा उनीहरुको दुःख, सुख बुझ्ने गरिन्छ । महिलाहरुलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजलाई उत्पीडनमा परेका महिलाको पीर, व्यथा उजागर गर्ने पर्वको रुपमा पनि विकास हुँदै गएकोमा यसको सामाजिक महत्व बढ्दै गएको हो । तडकभडकपूर्ण फजुल खर्च गरेर दर खाने नाममा भोज गरेर तीजको महत्व वृद्धि हुँदैन । तीजलाई भड्किलो र विकृतिपूर्ण बन्दै गएमा यसको सामाजिक, सांस्कृतिक महत्व तथा गरिमा ओझेलमा पर्ने निश्चित छ । धर्म, संस्कृति र चाडपर्वको नाममा कुनै पनि प्रकारको विकृति बढ्नु उचित हुँदैन ।










