उत्कृष्ट कवि घोषित समर्पण न्यौपानेलाई पुरस्कृत गरिँदै ।

हेटौंडाः मोती जयन्ती एवम् बुबाको मुख हेर्ने दिनको अवसरमा शनिबार आयोजित खुला कविता प्रतियोगितामा ३४ जना प्रतियोगीमध्ये ३ जना कवि उत्कृष्ट घोषित भएका छन् । समर्पण न्यौपाने, स्वस्तिका दाहाल र इलिशा पराजुली उत्कृष्ट कवि घोषित हुन सफल भएको हो । उत्कृष्ट कवि घोषित भएका तीनैजनालाई जनही २ हजार ५ सय रुपैयाँका दरले नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

यस्तै उषाकिरण अधिकारी र गौरी कँडेललाई प्रोत्साहनस्वरुप पुरस्कृत गरिएको छ । प्रोत्साहनस्वरुप जनही १ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । न्यौपानेले ‘बा’, दाहालले ‘बाबा’ र पराजुलीले ‘बाका रक्तनली’ शिर्षकमा कविता वाचन गर्नुभएको थियो भने अधिकारीले ‘बुबा’ र कँडेलले ‘बा’ शिर्षकमा कविता वाचन गर्नुभयो । सहभागी ३४ जनामध्ये २८ जनाले मात्र कविता वाचन गरेका थिए भने ६ जना अनुपस्थित भए ।

कविहरु छवि अनित्य, विश्वनाथ सञ्जेल र घनश्याम घिमिरेले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्ष तथा कवि रामचन्द्र फुर्सती आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।