हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देलमाथि मंगलबार दिउँसो कार्यकक्षमै कुटपिट भएको घटनामा हेटौंडा उपमहानगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो ।
सार्वजानिक निकायमा प्रवेश गरी भएको घटनाको हेटौंडा उपमहानगर, नगर कार्यपालिका घोर भत्र्सना एवम् निन्दा गर्दै घटनाको अबिलम्ब सत्यतथ्य छानविन गर्न माग गरिएको विज्ञप्तिमा उल्लेख छ । एमाले मकवानपुरका सचिवसमेत रहनुभएका सिग्देललाई नेकपा एमाले मकवानपुर जिल्ला कमिटीका सदस्य सानु लामा दोङले कुटपिट गरेका हुन् ।
आफूमाथि कुटपिट भएको भन्दै वडा अध्यक्ष सिग्देलले मंगलबार नै प्रहरीमा उजुरी दिनुभएको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले बताउनुभएको छ । अभियुक्त लामा फरार रहेको र खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक गौतमले जानकारी दिनुभयो ।