गुगल तस्विर ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–७ स्थित हिरामुनीमा एक महिला मृत अवस्थामा भेटिएकी छन् । बकैया–७ की ६२ वर्षीय कृष्ण कुमारी लामा आफ्नो घरबाट १ किलोमिटर पर सोही ठाउँ बस्ने ६५ वर्षीय सोनामाया भोलनकी बारीको झाडीमा घोप्टो परेको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

परिवारको सदस्यसँग शनिबारबाट सम्पर्कमा नरहेकी लामा सोमबार मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो । लामाको दाहिने खुट्टाको पैतलाको भाग नरहेको अवस्थामा मृत फेला परेकी हुन् । लामाको खुट्टाको पैतला कुनै हिंस्रक जनावरले तानेको हुन सक्ने अनुमान गरिएको छ । शवको पोष्टमार्टम नभएसम्म घटना के–कसरी भएको हो यकिन गर्न नसकिने प्रहरी प्रवक्ता कार्कीले बताउनुभयो ।

अहिले प्रहरी टोलीले मुचुल्का उठाउने काम गरिरहेको प्रहरी प्रवक्ता कार्कीले बताउनुभयो । शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो । सोमबार राति नै ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलीले घटनास्थललाई सुरक्षित राखेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताउनुभयो ।