स्वास्थ्य परिक्षण गराउँदै ।

हेटौंडाः हेटौंडा–९ स्थित नारायणी बहुउद्देश्यीय सहकारी संस्थामा भएको निःशुल्क स्वास्थ्य परिक्षण शिविरमा ४ सय जनाले स्वास्थ्य सेवा लिएका छन् । शिविरमा सहकारीका शेयर सदस्य, सदस्यको परिवार र स्थानीयहरु गरी ४ सय जनाले निःशुल्क स्वास्थ्य परिक्षण सेवा गराएका छन् ।

लायन्स क्लब अफ भक्तपुर सिद्धकाली, लियो क्लब अफ भक्तपुर सिद्धकाली तथा काठमाडौं मेडिकल कलेज संघ र नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा सहकारीमा बृहत निःशुल्क स्वास्थ्य शिविर भएको हो । शिविरमा प्रसुति तथा स्त्री रोग, नाक, कान, घाँटी, दन्त रोग, भिडियो एक्सरे, इसिजि सेवा, ल्याब परिक्षण जनरल मेडिसिन सेवा उपलब्ध गराईएको थियो ।

सहकारीका अध्यक्ष जंग बहादुर गुरुङको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा वडा नम्बर ९ का वडा अध्यक्ष सुकराम केसी, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटा, काठमाडौं मेडिकल कलेजका जनरल म्यानेजर नारायणप्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो ।