सांकेतिक तस्वीर ।

हेटौंडाः पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा एम्बुलेन्सले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । एम्बुलेन्सको ठक्करबाट संखुवासभा घर भएकी ५२ वर्षीया नमुना शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । शेर्पा मनहरी गाउँपालिकाको खरङ्गा स्थित छोरीको घरमा बस्दै आएकी थिइन् ।

आज बिहीबार बिहान १० बजेको समयमा मनहरी वडा नम्बर–९ को खरङ्गामा हेटौंडाबाट मनहरी जाँदै गरेको ना २ च ४१६१ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा शेर्पाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमोर्टमको लागि हेटौंडा अस्पताल ल्याईएको छ । ठक्कर दिने एम्बुलेन्स प्रहरी नियन्त्रणमा रहेको छ भने सवारी चालक फरार रहेको प्रहरीको भनाई छ ।