प्रदेश स्तरीय अपराध अनुसन्धान गोष्ठी ।

हेटौंडाः बागमती प्रदेश स्तरीय अपराध अनुसन्धान गोष्ठी–२०७९ मंगलबार सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल एवम् बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको संयुक्त आयोजनामा गोष्ठी भएको हो । गोष्ठीमा सहभागी अतिथिहरुले बागमती प्रदेशमा अपराधिक गतिविधि बढ्दो क्रममा रहेको भन्दै प्रहरीले प्रविधिमुलक अनुसन्धानमा जोड दिनुपर्ने धारणा राखेका छन् । अपराधको प्रकृति र प्रवृत्तिमा परिवर्तन आएकोले प्रहरीले प्रविधिमैत्री अनुसन्धान गर्नुपर्ने उनीहरुको भनाई छ ।

कार्यक्रममा प्रमुख अतिथि आन्तरिक मामिला तथा कानून मन्त्री माननीय कृष्ण प्रसाद शर्मा खनालले पछिल्लो समय अपराधिक प्रवृत्तिमा परिवर्तन हुँदै गईरहेकोले अनुसन्धान अधिकृतको क्षमता विकास गर्नुपर्ने बताउनुभयो । उहाँले प्रविधिमुलक अपराध अनुसन्धानका निमित्त अनुसन्धानमा प्रयोग हुने स्रोत साधनको व्यवस्थापनमा जोड दिनुपर्ने धारणा राख्नुभयो । त्यसैगरी सामान्य किसिमका अपराधमा संलग्न कसुरदारलाई वैकल्पिक कारागारको अवधारणा अनुसार त्यस्ता व्यक्तिहरुलाई राज्यका विभिन्न विकास निर्माणका कार्यमा लगाउन सकिने र यसका लागि प्रदेश मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यन्यायाधिवक्ता श्याम नारायण श्रेष्ठले पछिल्लो समय अपराधको प्रणालीमा परिवर्तनसँगै क्षेत्र फैलिदै गईरहेकोले प्रहरीले सोही अनुसार तयारी अवस्थामा रहनुपर्ने धारणा राख्नुभयो । तथ्यपरक अनुसन्धानमा संकलन गरिएका प्रमाणहरुको परिक्षण र सोको रिपोर्ट केन्द्रबाट मात्र प्राप्त हुँदा अनुसन्धानमा ढिलाई भएको भन्दै उहाँले प्रदेश स्तरसम्म प्रमाण परिक्षणको व्यवस्था मिलाउन आवश्यक रहेको औल्याउनुभयो । यस्तै, हिरासतको सुधार गर्ने र अपराध नियन्त्रणमा स्कुले विद्यार्थीहरुलाई सचेतना दिन अपरिहार्य रहेको उहाँले बताउनुभयो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी उत्तमराज सुवेदीले तल्लो ईकाईको बास्तविक अनुसन्धानमा देखिएका समस्याको बारेमा जानकारी लिने र समस्या समाधानमा कोशेढुंगाको रुपमा गोष्ठी रहने विश्वास व्यक्त गर्नुभयो ।

अपराधका प्रकृति र प्रवृत्ति परिवर्तित हुँदै गईरहेकोले प्रहरीले अबको अनुसन्धान प्रविधिमैत्री हुनुपर्ने उहाँको भनाई छ । कार्यक्रममा बोल्दै उहाँले हरेक नागरिकले आफ्ना सन्ततिलाई नैतिक शिक्षा अनिवार्य दिनुपर्नेमा जोड दिनुभयो । चितवन जिल्लाका जिल्ला न्यायाधिश रितेन्द्र थापाले अपराध अनुसन्धानका तिन अवयवहरु अनुसन्धान (प्रहरी), अभियोजन (सरकारी वकिल) र न्यायालयवीच निरन्तर समन्वय सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । अनुसन्धान नै न्याय निरुपण (फैसलाको) प्रमुख आधार भएको हुँदा प्रहरीले यसलाई बढी संवेदनशिल भई अनुसन्धानमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । कतिपय केशहरुमा अनुसन्धान फितलो हुनुका साथै प्रहरीको प्रविधिमैत्री अनुसन्धान कमजोर रहेको पाईएको हुँदा यस तर्फ साधनस्रोत व्यवस्थापन लगायत दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले अपराध अनुसन्धान क्षेत्रलाई विशिष्टिकृत गरी मुद्दा शाखामा काम गर्ने प्रहरी कर्मचारीहरुलाई प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो । कानूनमा व्यवस्था गरिएका कार्यहरु गर्नको लागि राज्यले सहयोग गरेमा मात्र प्रविधिमैत्री अनुसन्धानमा सहयोग पुग्ने हुँदा सरकारले अपराध अनुसन्धानका क्षेत्रमा सहयोग गर्नुपर्ने अपरिहार्य रहेको उहाँले बताउनुभयो । त्यसैगरी उच्च सरकारी वकिल कार्यालय हेटौंडाका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले प्रहरीको क्षमता अभिवृद्धि गर्नुका साथै अनुसन्धानमा सरोकार राख्ने निकायसंगको समन्वय र सहकार्यमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश प्रहरी प्रमुख किरण बज्राचार्यले अपराध गर्ने प्रहरीले प्रविधिमुलक अपराध अनुसन्धानमा जोड दिई अपराध अनुसन्धानमा प्रमुख तिन पिल्लरको रुपमा रहेको अनुसन्धान, अभियोजन र न्याय निरुपण एक आपसमा समन्वय सहकार्यमार्फत् मात्र पिडितले न्याय र वास्तविक पिडकले सजाय पाउने कुरामा जोड दिनुभयो । पहिलो चरणको समुद्‍घाटन कार्यक्रममा प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले कार्यक्रम बारे प्रकाश पार्नुका साथै बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो । उक्त गोष्ठीको दोस्रो चरणको कार्यक्रममा बागमती प्रदेश अन्तर्गतका ६ वटा जिल्ला प्रहरी कार्यालय प्रमुखहरुले अपराध अनुसन्धानको समग्र बस्तुस्थिति र अनुसन्धानमा गरिएका नविन प्रयोगहरुको विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण प्रसाद शर्मा खनालको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको थियो । अपराध अनुसन्धानमा बढेको चुनौतिहरु र त्यसलाई समाधानका उपायहरु पत्ता लगाउन अनुसन्धानमा नयाँ प्रविधिको प्रयोग गर्ने, बागमती प्रदेश भित्रका अपराध अनुसन्धान गर्ने ईकाईहरुको वर्तमान अवस्था, विद्यमान जनशक्ति तथा स्रोत र साधनहरु बीचको अधिकतम परिचालन एवं अन्तर कार्यालयबीच समन्वयको विकास गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको हो ।

उद्घाटन कार्यक्रममा बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता श्याम नारायण श्रेष्ठ, नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी अतिरीक्त महानिरीक्षक उत्तमराज सुवेदी, जिल्ला अदालत चितवनका जिल्ला न्यायाधिस रितेन्द्र थापा, चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, आन्तरिक मामिला तथा कानून सचिव नारायण प्रसाद शर्मा, उच्च सरकारी वकिल कार्यालय हेटौंडाका सहन्याधिवक्ता सन्देश श्रेष्ठ, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य लगायतको उपस्थिति रहेको थियो ।