आज बिहान हेटौंडाको सीमाचोकमा कर्मचारी ओसार्न दुरुपयोग भइरहेको बेलामा प्रहरीले रोकेको एम्बुलेन्स ।

हेटौंडाः लक डाउनको समयमा एम्बुलेन्स दुरुपयोग भएको घटनालाई प्रहरीले त्यस्सै छाडेको छ । आज बिहान हेटौंडा बजारको सीमाचोकमा मेडिकल स्टाफ ढुवानी गर्ने एम्बुलेन्सलाई प्रहरीले त्यस्सै छाडेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी सुजन पाठकले एम्बुलेन्सको दुरुपयोग भएको पाइए पनि एम्बुलेन्सको विस्तृत विवरण भने टिपोट नगरिएको जानकारी दिनुभयो ।
सूचना अधिकारी पाठकले भन्नुभयो, ‘एम्बुलेन्सले कर्मचारी ढुवानी गरेको पाइएको हो । तर, प्रहरीले कुनै विवरण संकलन गरेन ।’ विरामीलाई अस्पतालसम्म पुर्याउनुपर्दा भने एम्बुलेन्स नपाउने बेलामा कर्मचारी बोक्न एम्बुलेन्स दुरुपयोग भइरहँदा प्रहरीले सामान्य विषय बनाएर छाडेको छ । यसअघि मकवानपुर प्रहरीले एम्बुलेन्सबाट लागूऔषध गाँजा समेत बरामद गरेको घटना छ । एम्बुलेन्स संवेदनशील र अत्यावश्यक सेवाको क्षेत्र भनिए पनि यसको व्यवस्थापनमा भने स्थानीय प्रशासन संवेदनशील बन्न सकेको छैन ।