Home मुख्य समाचार शंकास्पद सबैको कोरोना परीक्षण विशेष रुपमा गर्न जिससले पहल गर्ने

शंकास्पद सबैको कोरोना परीक्षण विशेष रुपमा गर्न जिससले पहल गर्ने

रघुनाथ खुलाल

हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आज बसेको बैठकले कोरोना भाइरसको संक्रमणको आशंका भएका सबैको परीक्षण विशेष ढंगबाट गर्न पहल गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले आव्हान गरेको लक डाउनको समयमा जिल्लाका पालिकाहरुको हालको अवस्था र आगामी योजनाको विषयमा छलफल गर्ने गरी आज बसेको बैठकमा पालिकाका प्रमुख तथा उपप्रमुखहरुले शंकास्पद व्यक्तिको परीक्षणलाई प्रभावकारी बनाउन ध्यान दिनुपर्ने बताएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताउनुभयो ।
स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुबाट राहत वितरण तथा कोरोना संक्रमण हुन नदिन अपनाइएका सतर्कताका बारेमा छलफल भएको प्रमुख खुलालले बताउनुभयो । यस्तै आजको बैठकमा जिल्ला समन्वय समितिलाई प्राप्त भएका राहत पनि पालिकाहरुको मागका आधारमा वितरण गरिने निर्णय भएको छ । उद्योग परिसंघ नेपालको बागमती प्रदेश समितिले शुक्रबार बागमती प्रदेश सरकारलाई उपलब्ध गराएको राहत सामग्री बागमती प्रदेश सरकारले जिल्ला समन्वय समितिलाई उपलब्ध गराएको छ । उद्योग परिसंघ नेपालको बागमती प्रदेश समितिले उद्योग संघ मकवानपुरसँगको समन्वयमा शुक्रबार एक हजार प्याकेट राहत सामग्री उपलब्ध गराएको छ । यस्तै विभिन्न संघ, संस्थाले उपलब्ध गराउने राहत सामग्री स्थानीय तहमार्फत एकद्वार प्रणालीअनुसार वितरण गर्ने र स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षाको विषयमा गम्भीरतापूर्वक ध्यान दिनुपर्ने विषयमा पनि छलफल भएको प्रमुख खुलालले जानकारी दिनुभएको छ ।

Exit mobile version