व्यापार प्रवद्र्धन केन्द्रकोे उद्घाटन कार्यक्रममा सहभागी प्रमुख अतिथि, अतिथिहरु ।

हेटौंडाः हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टले व्यापार प्रवद्र्धन केन्द्र स्थापना गरेको छ । आइतबार हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले व्यापार प्रवद्र्धन केन्द्रको उद्घाटन गर्नुभयो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै उपमहानगर प्रमुख लामाले व्यापार प्रवद्र्धन केन्द्र उपमहानगरपालिकाको सम्पत्ती हुने बताउनुभयो । उहाँले व्यापार प्रवद्र्धन केन्द्रले सफल व्यवसायी उत्पादन गर्न पनि शुभकामना दिनुभयो । उहाँले विद्यालयसँग आगामी दिनमा समन्वय र साझेदारी गरेर काम गर्ने बताउनुभयो ।

व्यापार प्रवद्र्धन केन्द्रकोे उद्घाटन गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा ।

हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरन बहादुर जोशीले अहिले सबैजसो विद्यालयले विद्यार्थीको रिजल्ट के–कति आयो भनेर मात्र ध्यान दिइरहेको बताउनुभयो । उहाँले विद्यार्थीको रिजल्ट कस्तो आयो भन्दा पनि त्यसको प्रयोग कहाँ भयो भनी सोच्नुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई उद्यमी बन्न प्रेरित गर्न व्यापार प्रवद्र्धन केन्द्रको स्थापना गरेको बताउनुभयो । हेटौंडा औद्योगिक नगरी भएपनि यहाँ उद्यमीहरुको विकास हुन नसकेको जोशीले बताउनुभयो ।

हेटौंडा स्कूल अफ म्यानेजमेन्टका योजना तथा विकास विभागका निर्देशक दिपेश जोशीले देशमा निर्यात भन्दा आयात बढिरहेको अवस्थामा देशमा उद्यमशीलताको विकास हुनुपर्ने बताउनुभयो । उहाँले देशमा उद्यमीको विकास गर्न सबैले मनन् गर्नुपर्ने दिन आएको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई उद्यमशील बनाउन व्यवसाय प्रवद्र्धन केन्द्रले सहयोग पुर्‍याउने बताउनुभयो ।

हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सको व्यवस्थापन समितिका अध्यक्ष देव प्रसाद श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरकी प्रमुख टिका शर्मा, व्यावसायिक तथा सीप विकास तालिम केन्द्र हेटौंडाका प्रमुख युवराज गुरुङ, उद्योग संघ मकवानपुरका निवर्तमान अध्यक्ष लेखराज पोखरेल, मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख शंकर प्रसाद उपाध्याय, हेटौंडा क्याम्पसका प्रमुख देवचन्द्र मानन्धर, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्वल चौलागाई लगायतको आतिथ्य रहेको थियो ।