Home मुख्य समाचार राहत वितरणमा कडाई गरिने, हेटौंडाको मुख्य बजारमा थोक कारोबार मात्रै गरिने

राहत वितरणमा कडाई गरिने, हेटौंडाको मुख्य बजारमा थोक कारोबार मात्रै गरिने

हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कोराना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा व्यवस्थापन सम्बन्धमा आज बसेको बैठकले हेटौंडा उपमहानगरपालिका क्षेत्रमा राहत वितरणलाई कडाई गर्ने र त्यसका लागि उपमहानगरपालिकाले वडा कार्यालयलाई जिम्मेवार बनाउने निर्णय गरेको छ ।
उपमहानगरक्षेत्रमा राहत वितरण जथाभावी भइरहेको भन्दै बैठकले वडा कार्यालयबाट एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेको हो । व्यक्तिगत र संस्थागत तवरबाट राहत वितरणको कार्यलाई नियन्त्रण गरी कुनै व्यक्ति वा संस्थाले राहत सहयोग गर्न चाहे सम्बन्धित वडा कार्यालयमा बुझाउने र त्यसरी बुझाएको राहत सामग्री वडाले व्यवस्थित रुपमा लक्षित समूहलाई वितरण गर्ने निर्णय गरिएको छ । यस्तै बैठकले भोलिबाट हेटौंडाको मुख्य बजारक्षेत्रमा खाद्यान्न तथा तरकारीको थोक कारोबार मात्रै गर्ने गराउने निर्णय गरेको छ । मुख्य बजार क्षेत्रमा भइरहेको भीडलाई थप नियन्त्रण गर्न थोक मात्रै कारोबार गराउने र टोलटोलमा रहेका खाद्यान्न तथा तरकारी पसलबाट मात्रै खुद्रा कारोबारको व्यवस्था मिलाउन मकवानपुर उद्योग वाणिज्य संघलाई समन्वयको जिम्मेवारी दिने निर्णय गरेको छ । यसैगरी बैठकले राष्ट्र बैंकको निर्देशनअनुसार जिल्लाका सबै बैंकहरुलाई सेवा सुचारु गराउने निर्णय गरेको छ । केही बैंकहरु सुचारु नभएको भन्ने जनगुनासो आएकोले बैंकलाई राष्ट्र बैंकको निर्देशनअनुसार सुचारु गराउने निर्णय गरिएको छ ।
यस्तै जिल्लामा रहेका एम्बुलेन्सलाई सुरक्षित बनाउन एम्बुलेन्सको पार्टेसन गराउने विषयमा पनि छलफल भएको छ । कोरोना भाइरसको संक्रमण भएको विरामी आए एम्बुलेन्समा लैजाने क्रममा एम्बुलेन्स चालकको सुरक्षाका लागि चालक र पछाडि विरामी राख्ने स्थानबीच सुरक्षित पार्टेसन गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समिति मकवानपुर, हेटौंडा उपमहानगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागिता रहेको थियो ।

Exit mobile version