हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा चैत १ गतेयता विदेशबाट आएका थप १५ जना पहिचान भएका छन् । यसअघि ५ जना मात्रै पहिचान भएकोमा आज बिहान जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कोराना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा व्यवस्थापन सम्बन्धमा बसेको बैठकमा जिल्ला समन्वय समितिका अधिकृत भीमलाल महर्जनले मकवानपुरगढी गाउँपालिकामा थप १५ जना पहिचान भएको जानकारी गराउनुभयो ।
जिल्लाका अन्य पालिकामा भने थप पहिचान नभएको उहाँले जानकारी दिनुभयो । मकवानपुरगढी गाउँपालिकामा १५ जना थपिएसँगै मकवानपुर जिल्लामा चैत १ गते यता विदेशबाट आउनेको संख्या ४ सय ३९ जना पुगेको छ । विदेशबाट आएका सबैजना होम क्वारेन्टाइनमा रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।