हेटौंडाः मकवानपुरको कुलेखानी जलविद्युत् आयोजनाको जलाशय (इन्द्रसरोवर)मा जलसतह अघिल्लो वर्षको तुलनामा यस वर्ष कम देखिएको छ । अघिल्लो वर्षको यसै समयमा जलाशयमा समुद्र सहतहबाट एक हजार ५ सय १९ मिटर उचाइसम्म पानी भरिएकोमा यस वर्ष एक हजार ५ सय दशमलब ७० मिटरमात्र पानी रहेको कार्यालय प्रमुख धीरेन्द्र चौधरीले जानकारी दिनुभएको छ ।
अघिल्लो वर्ष असार महिनामै जलाधार क्षेत्रमा भारी वर्षा भएका कारण जलाशयमा पानीको सतह उल्लेख्य वृद्धि भएको थियो । यसपालि जलाधार क्षेत्रमा अघिल्लो वर्षको जति पानी नपरेका कारण जलाशयमा पानीको सतह गतवर्ष भन्दा कम भएको चौधरीको भनाई छ । एक हजार ५ सय ३० मिटर उचाइसम्म पानी भण्डारण क्षमता भएको जलाशयमा अघिल्लो वर्ष असोज महिनातिर पानी बढी भएर खेर गएको थियो । यसवर्ष गतवर्षको भन्दा जलाशयमा करिब १८ मिटर पानीको सतह कम रहेको छ । वर्षा अवधि बाँकी नै रहेकाले असोजसम्म जलाशयमा पानी भरिने चौधरीले बताउनुभयो ।
देशकै एकमात्र जलाशययुक्त जलविद्युत् आयोजना भएकाले कुलेखानीलाई अन्य आयोजनाको ब्याकअपको रुपमा प्रयोग गर्ने गरिएको छ । जलाशयमा जम्मा भएको पानीलाई प्रयोग गरेर तीनवटा आयोजनाबाट कुल एक सय ६ मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ । कुलेखानी पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ ।
देशका अन्य जलविद्युत् स्टेशनहरुलाई समर्थन गर्नका लागि मात्र कुलेखानी जलविद्युत् आयोजना प्रयोग गरिने चौधरीले बताउनुभयो । अन्य हाइड्रोपावरहरुमा पानीको बहाव घटेमा मेशिन बन्द हुने र सञ्चालनमा आउन समस्या हुने भएकाले आवश्यक परेको खण्डमा यो आयोजना सञ्चालन गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।











