हेटौंडाः हेटौंडा–५, पिप्लेस्थित सञ्जीवनी बचत तथा ऋण सहकारी संस्थाको २२ औं स्थापना दिवसको अवसरमा सहकारीले हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामासहित स्थानीय तहमा निर्वाचित सेयर सदस्यलाई सम्मान गरेको छ । सोमबार बिहान सहकारीको कार्यालय परिसरमै एक कार्यक्रमका बीच नगर प्रमुख लामासहित ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरे, ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, ५ नम्बर वडा सदस्यहरु ज्ञानु थापा मगर, रामबहादुर राई, रञ्जीता सिलवाल र ८ नम्बर वडा सदस्य मञ्जु भुर्तेललाई सम्मान गरेको हो ।
सहकारीकी अध्यक्ष जानुका चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका व्यवस्थापक प्रकाश खनालले सहकारीको वस्तुस्थितिबारे जानकारी गराउनुभएको थियो । सहकारीका व्यवस्थापक प्रकाश खनालले सहकारीको सेयर सदस्य ३ हजार २ सय ५९ जना रहेको जानकारी दिनुभयो । ३ करोड २१ लाख सेयर पुँजी रहेको सहकारीको बचत २२ करोड ४९ लाख रुपैयाँ रहेको छ भने ऋण लगानी २४ करोड २ लाख रुपैयाँ रहेको छ । सहकारीबाट ५ सय ५९ जनाले ऋण लिएको पनि व्यवस्थापक खनालले बताउनुभयो ।











