हेटौंडाः प्रत्येक वर्ष प्रदान गरिँदै आएकोे “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार” हेटौंडाकी साहित्यकार शान्ति प्रियबन्दनालाई प्रदान गरिने भएको छ । साहित्यपोस्टको सम्पादन मण्डल तथा स्तम्भकारहरूको बैठकले प्रियबन्दनाको कविता संग्रह “जिल खाइरहेको एक्काइसौं शताब्दी”लाई पुरस्कार दिने निर्णय भएको छ ।
साहित्यपोस्टको सम्पादन मण्डल तथा स्तम्भकारहरूको बैठकले निर्णायकहरूबाट प्राप्त अंकलाई अनुमोदन गर्दै “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार २०७८” प्रियबन्दनाको कविता संग्रह “जिल खाइरहेको एक्काइसौं शताब्दी”लाई दिने भएको हो । साहित्यपोस्टले पुस्तक प्रकाशन गरेर साहित्यमा प्रवेश गरेका डेब्यु लेखकहरूलाई हरेक वर्ष ५० हजार रुपैयाँका दरले पुरस्कार दिँदै आएको छ ।
यस्तै, सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा प्रदान गरिने २०७८ को “जसुदा साहित्य पुरस्कार” पनि शान्ति प्रियबन्दनालाई प्रदान गर्ने निर्णय गरेको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजले जसुदा पुरस्कार पनि हरेक वर्ष विभिन्न विधामा प्रदान गर्दै आएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजले २५ हजार रुपैयाँ नगदसहित जसुदा पुरस्कारबाट सम्मान गर्ने भएको हो ।