अगुल्टोले हानेको कुकुर इन्डिकेटर बल्दा नि तर्सिन्छ । पूर्व राजाले ख्वाक्क खोक्दा पनि धराप पर्ने लोकतन्त्र छ भन्छन् हाम्रो । ती राजाबारे पछि लेख्दै गरौंला । अहिले फलहरूको राजा आँप बारे चर्चा गरौं ।
जातजातिको कुरा नगरौं भने पनि नहुने । नेपालमा आँपमध्ये माल्दा (मालभोग) जातिको आँप साह्रै मिठो मान्ने गरिन्छ । सर्लाही नाममा सहर बजारभर आँप उपलब्ध छ । भारतको बम्बैदेखि यात्रा गर्दै आइपुगेको बम्बे आँप नेपालीले कमै मन पराउँछन् । उमेर नपुग्दै बालबिबाह गरेर अपराध गरेजस्तो कोया नपस्दै विषादीले पकाएका दशथरीका आँपमध्ये नेपाल भित्रिने आँपमा दशहरीको नाम पनि अग्रपङ्तीमैं आउँछ ।
आज यहाँ भने आँप साहित्यको चर्चा गरिन्छ । उहिले कविहरूले राजाका कविता लेखे । आजकाल राष्ट्रपतिका कविता लेख्छन् । नेताका कविता लेख्छन् । खुवाउने पिलाउने मालिकका कविता लेख्छन् । मालिक मरे सालिकका कविता लेख्छन् तर आँप खाएर पनि आँपमाथि कविता लेख्दैनन् । यसैले आँप खाँदाखाँदै जन्मिएको यो आलेखलाई आँप साहित्य हो भन्दा अत्युक्ती नहोला ।
स्याउ, अंगुर र सुन्तलाझैं आँप मन नपराउने को हुन्छ र ? गायकहरूले आँप गीत लेखेनन् । पहिले उनैलाई झटारो हानौं । फलफूलको राजा आँपलाई बाजामा मिलाउने हो भने सुन्नमा निकै मजा आउँदो हो । आउनोस्, केही प्रयोगहरू गरौं न त । आधुनिक गायक रामकृष्ण ढकालले आँपमाथि गीत गाउने हो भने यस्ता गीत गाउलान्–
मन पराउँने हजार भेटिन्छन्
विष नपरेका कमै हुन्छन् ।
जति खुवाओस् दशथरी खुवाओस्
आँप आखिर आँपै हुन्छन् ।
यस्तै स्वरसम्राट नारायण गोपालका लागि गीतकार हरिभक्त कटुवालले आफ्नै बगैंचा हुँदाहुँदै दुई दाना आँप कोसेली ल्याउनेलाई चुरोटको खोलमा यस्ता आँप गीत लेख्थे होलान्–
मलाई नसोध कहाँ दुख्छ घाउ
म जे छु ठीकै छु, आँप बोकेर नआऊ ।
लोक गायक प्रकाश सपुतलाई उनकी प्रियसीले उपहार दिएको अमिलो आँप खाइसकेपछि भुटेका मकै खाने बेलामा यस्ता गीत रच्दाहुन्–
नखानीलाई पिर परेर हुनसम्म भाछ
खानीलाई नखाउ भन्न नसकिने रछ
तिम्रो आँपले मलाई पिर दियो
ओ तिम्रो आँपले मलाई पिर दियो
अमिलो आँप, कुँडियो दाँत
ओई अमिलो आँप, कुँडियो दाँत
ओ तिम्रो आँपले मलाई पिर दियो
ओ तिम्रो आँपले मलाई पिर दियो
ऐया ऐया ऐया ऐया ।
त्यसो त भाइरल गायक दुर्गेशले बिच्चबीच्चमा–५ मा यस्ता गीत गाए पनि भाइरल भैहाल्लान् । उनको गीत यस्तो हुन सक्छ–
दिदीबहिनी दाजुभाइ हजुरआमा हजुरबाउ
आँपको भात आँप तरकारी आँपकै अचार खाउ
नेपाली ब्रायन एडम्सका उपनामले चर्चित सर्वप्रिय गायक सविन राईले काँचो र अमिलो आँपमाथि गीत गाउन परे यसरी गाउँदा हुन्–
म आँप खाने आँट गर्दैछु
मात्र तिमी झटारो बनिदेऊ
भविष्यलाई अचार बनाउँदैछु
मात्र तिमी नुन खुर्सानी मिलाइदेऊ
यही नै अनुरोध मेरो ।
सहरमा विषादी प्रयोग भएका आँपको विगविगी छ । त्यस्तै आँप पेटमा पर्ने हो भने मनका कवि श्रवण मुकारुङका विसे नगर्चीको यस्ता प्यारोडी कविता नजन्मिलएला भन्न सकिन्न–
मालिक म यो गोरखा राज्यमा
अढाई किलो आँप खाएपछि बौलाएँ ।
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिरतिर्मिर भएर
हजुरको शिर दसवटा देखिरहेछु
खोइ मेरो पैताला कहाँनिर छ ?
नेपाली फिल्ममा झाँक्रीको भूमिकामा रहने चर्चित कवि उपेन्द्र सुब्बाले आँपको सितनसँग रक्सी खानुपर्दाको पीडा कवितामा यसरी लेख्दाहुन्–
कसो बाटो भुलेर म फेरि
यहाँ, भट्टीछेउ आइपुगेँ ।
अब,
सिधा वा बाङ्गो गरी
जसो–जस्तो गरी भएर यहाँ आइपुगेपछि
नआउनुथ्यो, आइसकेर
नखानुपथ्र्यो आँपको सितनसँग रक्सी
भित्रै आइसकेपछि
साँल्दीज्यू
एक ट्वाँक चढाउँ कि ?
सर्जक सञ्जाल मकवानपुरका संयोजक अपूर्व भाष्यचेत भएका कवि निमेष निखिल आँपमाथि यस्ता हास्यचेतका कविता लेख्दाहुन्–
सिन्धुलीमा जन्म्यो सर्लाही धायो
त्यहाँ त झन् आँपै आँप खायो
लेख्ने–पढ्ने बहानामा हेटौंडा आयो
त्यसो त ऊ एकताका कोलकातातिर
बेपत्ता पनि नभएको हैन
उसले त्योबेला खुबै कलकत्ते आँप खायो
जता गए पनि आँपले नछाडेपछि
दुखका आँसु पिलपिल
आजकल आँप कविता लेख्न थालेको छ निमेष निखिल ।
आँपले शरीरमा सुगर लेभल बढाउँछ भन्छन् । डाक्टरसँग औषधी लिँदा पनि आँप खानुअघि कि आँप खाएर भनी सोध्नुहुने निमेष सरको प्यारोडी आँप कविताका कारण गाली वा आँप जे खाएनि सहुँला बुझुँला ।
अहिलेका चर्चित युवा गजलकार प्रदीप रोदनले आफ्ना बगैंचाको आँप बेचेर सहर छिरेपछि यस्ता गजल लेख्लान्–
डाक्टर साब म आँप बेचेर जचाउन आएको हुँ
बिन्ती मलाई खाली पेटमा खाने दबाई दिनुहोस् ।
कल्पना गर्दै जाने हो भने हामी हाम्रा महाकविको चन्द्रमाभन्दा अगाडि जान सक्छौं । फिल्मकै कुरा गरौं न । आँपमाथि फिल्म बनाउनेको पनि कम्तिको होडबाजी नहोला । फिल्म बनाउनेहरूले चिसो मान्छे नबनाएर अमिलो आँप बनाउलान् । पहिलोले राम्रो कमाई दियो भने पाकेको आँप बनाउलान् । एउटाले नाफा कमाएको देखेर त्यो बीचमा अर्कैले आँपको अचार बनाउलान् । आँप १, आँप २, आँप ३, आँप ४ ले पनि राम्रै बजार लेला ।
तपाईँ भन्नुहोला– घिरौंला कविता, मुला कविता हुँदा हुँदा यो ठिटोले आँपमाथि पनि गीत, कविता लेख्न थाल्यो, यसले नेपाली साहित्यको हुर्मतै लिने भयो । दुनियाँले बोक्रा कविता, छोक्रा कविता अनी खोया कविता लेखिरहँदा मैले कोया कविता लेख्नै बाँकी छ त्यसपछि त आँपको झटारो महाकाव्य नै रच्नुछ । बधाई दिनेहरूले आँप लिएर आउनु हुनेछ । आए आँप गए झटारो । जय सिस्नुपानी ।
(लेखक सिस्नुपानी मकवानपुरमा आबद्ध छन् ।)
