Home मुख्य समाचार इन्द्रसरोबरको ४२ करोड ६३ लाखको बजेट, पर्यटन र कृषि प्राथमिकतामा

इन्द्रसरोबरको ४२ करोड ६३ लाखको बजेट, पर्यटन र कृषि प्राथमिकतामा

हेटौंडाः इन्द्रसरोबर गाउँपालिकाले शनिबार बजेट सार्वजनिक गरेको छ । इन्द्रसरोबर गाउँपालिकाले ४२ करोड ६३ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिनुभयो । गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट ल्याएको उहाँले बताउनुभयो ।

अर्थतन्त्रको मुख्य आधार नै कृषि र पर्यटन भएकोले त्यसैलाई आधारमा मानेर बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाले भरपर्दो सुविधायुक्त सडक सञ्जाल स्तरोन्नति तथा बिस्तार गर्ने, रोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने, समन्यायिक विकासका लागि कृषि, पशुपालन, पर्यटनलगायतका क्षेत्रको प्रवद्र्धन गर्ने, कृषि क्षेत्रको व्यावसायीकरण, यान्त्रिकरण र बजारीकरण गरी कृषिप्रतिको आकर्षण अभिवृद्धि गर्ने विषयलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको अध्यक्ष पुडासैनीले जानकारी दिनुभयो ।

इन्द्रसरोबर गाउँपालिकालाई संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानमा ८ करोड १० लाख रुपैयाँ, सशर्त अनुदानमा १४ करोड २ लाख रुपैयाँ, राजश्व बाँडफाँड अनुदानमा ६ करोड ५९ लाख रुपैयाँ, विद्युत् रोयल्टी र वनमा २ करोड २७ लाख रुपैयाँ, विशेष अनुदान १ करोड ५० लाख र समपूरक अनुदान १ करोड ५ लाख रुपैयाँ प्राप्त भएको छ । यस्तै, प्रदेश सरकारतर्फ वित्तीय समानीकरण अनुदानमा ६८ लाख २० हजार रुपैयाँ, चालु तथा पुँजीगत अनुदानमा २ करोड १७ लाख रुपैयाँ, राजश्व बाँडफाँड अनुदानमा १ करोड ७४ लाख रुपैयाँ, समपूरक कोष अनुदानमा २ करोड ९८ लाख र विशेष अनुदानमा ४० लाख रुपैयाँ प्राप्त भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को अनुमानित आन्तरिक आय १ करोड १२ लाख रुपैयाँ रहेको छ ।

इन्द्रसरोबरसँगै मकवानपुरमा ९ वटा स्थानीय तहको बजेट सार्वजनिक भएको छ । यस्तै, राक्सिराङ गाउँपालिका बजेट सार्वजनिक गर्ने प्रक्रियामा रहेको छ । राक्सिराङ गाउँपालिकाले असार १० गते नै वार्षिक नीति तथा कार्यक्रम, आर्थिक ऐन र विनियोजन ऐन पारित गरेको थियो । राक्सिराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाका अनुसार असार २५ गतेसम्म बजेट ल्याउने तयारीमा गाउँपालिकाले काम गरेको थियो । पूर्वाधार विकासका कार्यक्रमहरु निर्माण गर्दा ढिलो भएको उहाँले बताउनुभयो । असार मसान्तसम्म बजेट ल्याएर पास गर्नुपर्ने प्रावधान रहेको भन्दै उहाँले गाउँपालिकाको बजेट असार २८ गते ल्याउने तयारी गरिरहेको जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ को २ बमोजिम मंगलबार गाउँसभाको बैठक आह्वान गरिएको जानकारी दिनुभयो । गाउँसभाको बैठकमा आर्थिक विधेयक २०७९ र विनियोजन विधेयक २०७९ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै, न्यायिक समितिको सदस्य मनोनयन, आगामी आर्थिक वर्ष २०७९/८० को राजस्व तथा व्ययको अनुमानित (बजेट)को सम्बन्धमा र विधायन समिति र लेखा समिति गठन सम्बन्धमा प्रस्तुत गर्ने कार्यसूची रहेको उहाँले जानकारी दिनुभयो ।

मकवानपुर जिल्लाको १० वटा स्थानीय तहमध्ये ५ वटा स्थानीय तहले तोकिएकै समय असार १० गते नै नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका थिए । हेटौंडा उपमहानगरपालिकामा गठबन्धन दल र एमालेबीच समिति गठन गर्ने विषयमा विवाद भएपछि असार १३ गते मात्रै बजेट सार्वजनिक गरिएको थियो । मनहरी गाउँपालिकाले पनि गत बिहीबार बजेट सार्वजनिक गरेको छ ।

Exit mobile version