हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले नदिजन्य पदार्थको राजश्व दाखिला नगर्ने ५ वटा क्रसर उद्योगमा तालाबन्दी गरिदिएको छ । गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपालीको नेतृत्वमा वडा अध्यक्षसहितको समूहले क्रसर उद्योगमा तालाबन्दी गरिदिएको हो ।
५ वटा क्रसर उद्योगले गाउँपालिकालाई १ करोड ५४ लाख रुपैयाँ राजश्व दाखिला गर्न बाँकी थियो । मकवानपुरगढी गाउँपालिका–५ स्थित साइबाबा क्रसर उद्योगले २८ लाख रुपैयाँ, आधुनिक क्रसर उद्योगले २३ लाख रुपैयाँ, आमभञ्ज्याङ एग्रिगेटले २८ लाख रुपैयाँ राजश्व भुक्तानी गर्न बाँकी रहेको गाउँपालिकाको आर्थिक विकास समितिका संयोजक समेत रहनुभएका ६ नम्बर वडा अध्यक्ष कृष्णप्रसाद बजगाईले जानकारी दिनुभयो ।
यस्तै मकवानपुरगढी–२ स्थित नमुना बालुका उद्योगले ३० लाख रुपैयाँ र मकवानपुरगढी–६ स्थित सामरी खोला बालुवा उद्योगले ४५ लाख रुपैयाँ राजश्व भुक्तानी गर्न बाँकी थियो । यसअघि पटक पटक ताकेता गरिएको र असार १५ गतेसम्ममा भुक्तानी गर्ने लिखित सहमति पनि पालना नभएपछि तालाबन्दी गर्न बाध्य भएको वडा अध्यक्ष बजगाईले बताउनुभयो ।











