हेटौंडा ४ हुप्राचौरमा निर्माण गरिएको खुला व्यायामशाला

हेटौंडाः हेटौंडा–४ स्थित हुप्रचौरमा खुला व्यायामशाला निर्माण भएको छ । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा चिकित्सा वैकल्पिक महाशाखाले निर्माण गरेको खुला व्यायामशालाको शुक्रबार निर्माण सम्पन्न भएको छ ।

आयुर्वेद तथा चिकित्सा वैकल्पिक महाशाखाको “निरोगी नेपाल निर्माण अभियान” अन्तर्गत हेटौंडाको हुप्रचौरमा खुला व्यायामशाला निर्माण गरिएको हो । खुला व्यायामशालामा १५ प्रकारका जीम सामग्री जडान गरिएको छ । उपमहानगरपालिकाले अहिले तत्काल तीन ठाउँमा खुला व्यायामशाला निर्माण गर्न सिफारिस गरेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनुभयो । हेटौंडा–४ स्थित हुप्रचौर, हेटौंडा–१ स्थित राप्तिपुल नजिक र हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशाला नजिकै खुला व्यायामशाला निर्माण गरिने भएको छ ।

व्यायामशालाका लागि उपमहानगरपालिकाले जग्गा उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । हुप्रचौरमा निर्माण गरिएको व्यायामशालामा अबको एक हप्तापछि व्यायाम गर्न मिल्ने कामदार तारामान तामाङले जानकारी दिनुभयो । शनिबारबाट हेटौंडा–१ स्थित राप्ति पुल नजिक व्यायमशाला निर्माण गर्ने लक्ष्य रहेको तामाङले बताउनुभयो । व्यायामशाला निर्माण भएसँगै शारीरिक कसरतको लागि धेरै फाइदा हुने जनस्वास्थ्य निरीक्षक चौलागाईले बताउनुभयो । “अहिले नसर्ने रोगहरुको प्रकोप बढी रहेको छ । संसारमा नसर्ने रोगका कारण ६० प्रतिशत मृत्यु हुने गरेको पाइन्छ । यसलाई व्यायाम गरेर घटाउन सकिन्छ ।” उहाँले भन्नुभयो, “अहिलेका मान्छेहरुमा शारीरिक क्रियाशिलता कम भईरहेको छ । जसले गर्दा विभिन्न रोग देखा पर्न सक्छन् । रोगहरु लाग्नबाट बच्न व्यायामशाला सहयोगी बन्छ ।”

शारीरिक परिश्रम नगर्ने मानिसहरुले बिहान वा बेलुका अनुकल अनुसार व्यायमशालामा राखिएका सामाग्रीहरुबाट आफ्नो शरीरलाई चलाएमान बनाउन सक्ने उहाँको भनाई छ । व्यायाम गर्दा शरीरका अङ्गहरु चलायमान हुने, फुर्तिलो र निरोगी बन्ने चौलागाईले बताउनुभयो ।