मिन्टु आज धेरै खुशी थिई किनभने आज उनको आमाले उसलाई मनपर्ने रङ्गको लुगा ल्याइदिनुभएको थियो । मिन्टुको मनपर्ने रङ्ग रातो हो । मिन्टु, हेर त मैले तिमीलाई मनपर्ने रङ्गको ल्याइदिएको छु । कस्तो छ ? आमाले मिन्टुलाई नयाँ लुगा देखाउँदै भन्नुभयो । आहा ! कस्तो राम्रो लुगा मेरो मनपर्ने रङ्ग मलाई यो लुगा साह्रै मनपर्यो म भोलि नुहाएर यही लुगा लगाउँछु है । मिन्टुले खुसी हुँदै भन्यो । आमाले उसलाई हुन्छ भन्दै अङ्गाले मार्नुभयो । मिन्टुलाई नयाँ लुगा लगाउन धेरै आतुर थियो । उसलाई कहिले भोलि बिहान होस् भन्ने पर्खाइमा ऊ निकै बेचैन भएको थियो । भोलिपल्ट बिहानै नुहायो र नयाँ लुगा लगाएर आमा सामु आयो । “आमा म कस्तो देखेको छु ?”
आहा ! मेरो छोरो त ठ्याक्कै राजकुमार जस्तै देखेको छ भन्दै आमाले मिन्टुको गालामा म्वाई खानुभयो र उसको हातमा चकलेट दिनुभयो । मिन्टु पनि खुसी भएर , “म एकछिन्, खेल्न गएँ ।” खेल्दा खेल्दै अचानक मिन्टुको दाँतमा बलले लाग्यो, मिन्टु साह्रै रोयो र आमा भएको ठाउँमा गयो । मिन्टुको त दाँत पो हल्लिएछ, आमाको कुरो सुनेर ऊ साह्रै डराएर रुन थाल्यो । “केही हुँदैन मिन्टु अब यो तिम्रो दाँत निकाल्नु पर्छ अनि पछि राम्रो दाँत आउँछ बाबु”, भन्दै आमाले सम्झाउनु भयो । मिन्टु दाँतको बारेमा सोचेर निकै चिन्तित भयो । आमाले आऊ म बिस्तारै निकाल्दिन्छु भन्दा ऊ मान्दै मानेन । ह्या आमा भोलि निकाल्ने आज मलाई धेरै दुखिरहेको छ भन्दै आफ्नो कोठातिर पस्यो ।
त्यति नै बेला राज पनि आफ्नो हातमा केही कुराको पोको बनाएर आएको थियो । “ओहो ! मिन्टु हेर त राजले त तिमीलाई मनपर्ने खानेकुरा मकै लिएर आएको रहेछ । लाऊ यो मकै खाऊ भन्दै आमाले दिनुभयो ।” आफूलाई मनपर्ने खानेकुरा ल्याइदिएकोमा मिन्टुले राजलाई धन्यवाद दियो । मकै खाने धुनमा उसको दाँत दुखेको छ भन्ने कुरा नै बिर्सियो र मकै मात्र एकपटक के टोकेको थियो उसको दाँत भुइँमा खस्यो । यो देखेर दुबैजना आमा कहाँ गए र मिन्टुले भन्यो, “आमा अब त मेरो दाँत निक्लिहाल्यो नि ।” यति भन्दै सबैजना गलल्ल हाँसे र मिन्टु भने मुख कुल्ला गर्न बाथरुम तिर पस्यो ।
