मानिसको स्वास्थ्य जोखिम वर्षाद् सुरु भएसँगै हुने गरेको छ । भलबाढीले ज्यान जानेदेखि अनेक प्रकारका रोगव्याधिले सताउने गर्दछ । मानिसका बानी व्यवहारले पनि स्वास्थ्य जोखिम बढ्दै गएको छ । यतिबेला हैजाको प्रकोप देखिएको छ । काठमाडौंमा हैजाबाट प्रभावित हुने मानिसहरुको संख्या बढ्दै गएको छ । खानेपानीमात्र स्वच्छ बनाउने हो भने हैजा फैलने जोखिम न्यून हुने विज्ञहरुले बताउँदै आएका छन् । तर वर्षाद्को भेलबाढीबाट ज्यान जोगाउने कि पानी शुद्ध बनाउने भन्ने प्रश्न पनि छ । भलबाढी र पहिरोबाट ज्यान जोगाउन कठिन भएको अवस्थामा प्यास मेटाउन जस्तो पनि पानी पिउनुपर्ने बाध्यता छ ।

हैजाजस्तो जीवाणु मानिसको शरीरमा प्रवेश गर्ने मुख्य कारण मानिस स्वयम्को व्यवहार जिम्मेवार हुन्छ । काठमाडौंका अतिरिक्त अन्य शहरहरुमा पनि हैजाको जोखिम देखिएको छ । बाक्लो र फोहर बस्तीमा अनेक प्रकारका महामारी सुरु हुने र ठूलो जनसंख्यालाई छिट्टै प्रभावित पार्ने जोखिम हुन्छ । अवस्था जटिल बन्दै गए पनि स्थानीय तहबाट हैजा नियन्त्रण तथा रोकथाका लागि ठोस पहल गरेको देखिँदैन । समुदाय, परिवारदेखि व्यक्ति स्वयम् पनि यतिबेला आइपर्ने संकटप्रति गम्भीर देखिएका छैनन् । सबैले हैजालाई स्वभाविकरुपमा लिने र हेलचेक्र्याइँ गर्ने हो भने कोभिड महामारीभन्दा गम्भीर परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ । व्यवहारदेखि निर्णय प्रक्रियामा समेत हैजालाई बेवास्ता गर्दै जाने हो भने जटिल परिस्थिति आउन सक्ने विज्ञहरुको चेतावनीप्रति गम्भीर हुनै पर्दछ ।

हेटौंडा उपमहानगरपालिकाले हैजाबाट बच्नका लागि भन्दै साँझ बिहान माइकिङ गर्दै आएको छ । मानिसहरु भिड लाग्ने चोक, तरकारी बजारदेखि मुख्य सडक क्षेत्रमा हैजाबिरुद्धको माइकिङ प्रभावकारी नै छ । तर यत्तिमै सीमित हुनुभन्दा हेटौंडा बजारमा वितरण गरिने खानेपानीका मुहानको सरसफाईदेखि निर्मलीकरण गर्ने अभियान सञ्चालन गरिनु आवश्यक छ । विशेषगरी पानी शुद्ध खुवाउने प्रबन्धका लागि स्थानीय तहबाट पहल हुनु आवश्यक छ । नागरिकले पनि आफ्नो ज्यान र स्वास्थ्यका लागि राज्यका निकायहरुकै मुख ताक्ने प्रवृत्ति छोड्नु पर्दछ । आफूले प्रयोग गर्ने पानीदेखि घरआँगन तथा व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिन आवश्यक छ । व्यक्तिगत कुरामा पनि राज्यमाथि नै भरपर्ने गर्दा ज्यान जोखिममा पर्ने खतरा छ ।

हेटौंडाका धाराहरुमा यदाकदा धमिलो पानी आउने गुनासो छ । खानेपानी व्यवस्थापन बोर्डले वितरण गर्ने पानीको गुणस्तर परीक्षण गरिएको हुनुपर्दछ । बारम्बार पानीका श्रोतहरुको शुद्धता परीक्षण जरुरी छ । कतिपय घरपरिवारले अझै पनि इनार वा ट्युबवेलको पानी प्रयोग गर्ने गरेका छन् । खानेपानीको किटनाशक औषधि वा शुद्धीकरण गरेर पठाएको पानीमा पनि कहिलेकाहीँ समस्या आउने गरेको छ भने बर्खा मौसममा इनार वा ट्युबवेलको पानी प्रयोग थप जोखिम हुनसक्छ । आफैंले बनाएका भूमिगत श्रोतको पानी परीक्षण गराएर खानयोग्य प्रमाणित भएपछिमात्र उपयोग गर्ने बानीको विकास गरिनु पर्दछ । राज्यले गरिदिएन भनेर गुनासो गर्नेभन्दा आफ्नो स्वास्थ्यका लागि आफैंले के गरेको छ भन्ने प्रश्न गर्नु आवश्यक छ । तबमात्र कुनै पनि महामारीबाट बाँच्न सकिन्छ ।