हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविमा विपद् व्यवस्थापनसम्बन्धी ४ दिने तालिम सम्पन्न भएको छ । विपद् व्यवस्थापनको विषयलाई विद्यालय सुधार योजनामा एसआइपीमा समावेश गरी सुरक्षित विद्यालय अवधारणालाई कार्यान्वयन गर्न शिक्षक, विद्यार्थी, अभिभावक, वडाका जनप्रतिनिधिलाई तालिम प्रदान गरिएको हो ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाईको आयोजनामा भएको तालिममा विद्यालयका शिक्षक ६ जना, विद्यार्थी ८ जना, विद्यालय व्यवस्थापन समिति सहित अभिभावक ६ जना, शिक्षक–अभिभावक संघका प्रतिनिधि ३ जना, वडाका जनप्रतिनिधि ३ जना सहभागी थिए । एसियाली विकास बैंकका कन्सल्ट्यान्टका तर्फबाट सुरेश नाथले तालिममा सहजीकरण गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका सदस्य मंगलबहादुर मोक्तानको सभाध्यक्षता र वडा सदस्य दिनेश चेपाङको प्रमुख आतिथ्यमा भएको तालिम समापनका अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतम, विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्य, शिक्षक राचन्द्र तिमल्सिना, ईश्वर रिजालले तालिममा सिकेका विषयलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमको संयोजकत्वमा सुशील गौतम, मीरा खत्री, ऋषिराम गौतम, मंगलबहादुर मोक्तान, मनोज चौलागाई सुस्मिता जिम्बा, सजल गौतम, रितेश बिष्ट, ईश्वर रिजाल सदस्य रहेको विद्यालय विपद् व्यवस्थापन समिति पनि गठन गरिएको छ । समितिले विद्यालयको स्रोत नक्सांकनसहित विपद् व्यवस्थापन योजना निर्माण पनि गरेको छ ।