हेटौंडाः स्वतन्त्र पत्रकार संघ नेपालले जिल्ला शाखाका अध्यक्ष र सचिवहरुको भेला गर्ने भएको छ । मंगलबार गण्डकी प्रदेशको नवलपुर जिल्ला गैंडाकोटमा स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा बसेको बैठकले आगामी साउन ६ गते पर्यटकीय नगरी पोखरामा जिल्ला अध्यक्ष र सचिवहरुको भेला गर्ने निर्णय गरेको हो ।

स्वतन्त्र पत्रकार संघको २८ जिल्लामा शाखा गठन भएको छ । स्वतन्त्र पत्रकार संघका उपमहासचिव सुरेश श्रेष्ठका अनुसार संगठनको भावी योजना निर्माण गर्ने गरी भेलाको आयोजना गर्न लागिएको हो । नेपाल पत्रकार महासंघमा दलीय भागबण्डाको विरोध गर्दै २०६८ सालमा स्थापित स्वतन्त्र पत्रकार संघ नेपाल हालै चौथो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि पहिलो बैठक गैंडाकोटमा बसेको हो । पोखरामै केन्द्रीय कार्यालय रहेको संघको सम्पर्क कार्यालय गैंडाकोटमै स्थापना गर्ने निर्णय पनि गरिएको छ ।

संघको जिल्ला शाखाहरुको संस्थागत विकास गर्ने गरी स्थानीय प्रशासनमा दर्ता गर्ने, जिल्ला शाखाहरुले नै पत्रकार प्रशिक्षण, अभिमुखीकरण तथा सञ्चार संस्थाको व्यावसायिकता प्रवद्र्धनमा प्रोत्साहित गर्ने योजनामा पनि रहेको उपमहासचिव श्रेष्ठले बताउनुभयो । संघले सदस्यको व्यक्तिगत विवरण संकलन गरी डाइरेक्टरी प्रकाशन गर्ने निर्णय गरेको छ । संघले वार्षिकरुपमा प्रकाशन गर्दै आएको स्वतन्त्र सन्देश पत्रिका पनि प्रकाशन गर्ने निर्णय गर्दै सम्पादकमा अर्का उपमहासचिव कल्याण पन्तलाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।