हेटौंडाः मकवानपुर प्रहरीले १५ किलो लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन जिल्लाको राप्ती नगरपालिका–११ का २६ वर्षीय ईन्द्र बहादुर प्रजा र २३ वर्षीय अकल बहादुर प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बुधबार साँझ ७ बजेको समयमा विशेष सूचनाको आधारमा खटिएको ईलाका प्रहरी कार्यालय मनहरीको टोलीले मनहरी–९ ज्यामिरेबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । पुर्व–पश्चिम सडकखण्डमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ७ ख ६०५९ नम्बरकोे बसलाई मनहरीको जङगलेश्वर मन्दिरमा रोकी सुरक्षाजाँच गर्ने क्रममा लागुऔषध गाँजा बरामद भएको हो । गाँजासहित प्रजालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।