हेटौंडाः सरकारी विद्यालयमा पाठ्यपुस्तकको समस्या समाधान गर्न अनेरास्ववियुले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ध्यानाकर्षण पत्र बुझाएको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई एमाले निकट संगठन अनेरास्ववियुले ध्यानाकर्षण गराएको हो ।
ध्यानाकर्षण पत्रमा भनिएको छ “सरकारी विद्यालयमा भईरहेको पाठ्यपुस्तक अभाव तत्काल संम्बोधन होस् । सबै सरकारी सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई एक हप्ता भित्र पाठ्यपुस्तक उपलब्ध गरियोस ।” यस्तै, सार्वजनिक सवारी साधनमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने विषयको पूर्ण कार्यान्वयनका लागि ध्यानाकर्षण गराईएको छ । जिल्लामा साझा यातायात, नारायणी यातायात, टेम्पो तथा मझौला यातायात लगायतका संघ संस्थाको दादागिरी बन्द गरि विद्यार्थीको अधिकार सुनिश्चित गर्न माग गरिएको छ ।
यस्तै सार्वजनिक बिदाको दिनमा समेत सरकारी नम्बर प्लेटका सवारी साधनहरु निर्वाद रुपमा आवत जावत हुने गरेकोले अनुगमन गर्न अनुरोध गरिएको छ । शैक्षिक संस्थाहरुको वरिपरी धुम्रपानजन्य, मदिराजन्य, सुर्तीजन्य पदार्थहरुको बिक्रि वितरणमा रोक लगाउन र तुरुन्त अनुगमन गर्न अनेरास्ववियु मकवानपुरले गम्भीर ध्यानाकर्षण गराएको छ ।