हेटौंडाः बागमती प्रदेशको विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ । सरकारले गत असार १ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट आज बिहीबार बसेको प्रदेश सभा बैठकमा बहुमतले पारित भएको हो ।
प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले विनियोजन विधेयक २०७९ लाई पारित गरियोस भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । यस्तै, आजको बैठकमा प्रदेश सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९ माथि कार्यान्वयन गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ । यस्तै, विनियोजन विधेयक २०७९को दफा २ देखि १० सम्मका दफाहरु तथा सो सँग सम्बन्धित उपदफाहरु, अनुसूची १ र २ विधेयकको अंग बनोस भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको छ ।











