हेटौंडा अस्पताल लामो समयसम्म रिफर सेन्टरका रुपमा रहेको थियो । अति सामान्य समस्याका लागि भरतपुर र काठमाडौं रिफर गरिन्थ्यो । उपचार गर्दा बिरामी तलमाथि भए आफन्त तथा सर्वसाधारणले डाक्टरहरुप्रति अमानवीय व्यवहार गर्ने गर्दा अति सामान्य उपचारका लागि पनि जोखिम नलिने गर्दा यहाँ उपचार नै हुन सकेको थिएन । आफ्नै व्यवहारका कारण लामो समयसम्म हेटौंडाबासीले सास्ती खेप्नु परेको थियो । पछिल्लो केही वर्षयता हेटौंडा अस्पतालको सेवा परिस्कृत भएको यथार्थ हो । तर अझै नागरिकको आवश्यकतालाई सम्बोधन गर्न सक्ने अवस्था छैन । अस्पताल जानु भनेको थप बिरामी पर्नु नै हो । हेटौंडामा बढेको जनसंख्याका आधारमा बिरामीको चाप बढ्दै गएको छ । तर अस्पतालमा आवश्यक व्यवस्थापन हुन नसक्दा बिरामीले सास्ती खेप्न बाध्य भएका छन् ।

सेवामा गुणस्तरीयता भए पनि जनशक्तिको अभावले टिकट काट्ने, डाक्टरसँगको परीक्षण, प्रयोगशालामा नमूना दिने र रिपोर्ट लिनेदेखि औषधिका लागि निकै लामो समय अस्पतालमा बस्नुपर्ने बाध्यता छ । सामान्य परीक्षण गर्नुपर्ने बिरामीका लागि सबै रिपोर्ट लिन कम्तिमा २ दिन अस्पतालकै बास हुने गरेको छ । व्यवस्थापन हुन नसक्दा दुःख पाएको नागरिकको गुनासोपछि राजनीतिक दल, तिनका भातृ संस्थादेखि केही स्वतन्त्र समूह यतिबेला अस्पतालको बेथिति सुधार्ने अभियानमा देखिन्छ । तर यी समूहले अस्पताललाई सहयोग गरेर त्यहाँको सेवा प्रभावकारी बनाउने भन्दा कर्मचारीहरुसँग प्रश्न गर्ने, गेटमा धर्ना दिने कार्यबाट सेवा थप प्रभावित हुने खतरा पनि बढेको छ । कमजोर सेवालाई प्रभावकारी बनाउने हो, अवरोध हैन ।

दल, भातृ संस्था वा अन्य समूहले अस्पतालको समस्या समाधान गर्न कार्यरत कर्मचारीसँग सवाल–जवाफभन्दा नीतिगत सुधारतर्फ पहल जरुरी छ । कम जनशक्तिले धेरै काम गर्नुपर्ने अवस्थामा भएकै कर्मचारीले सहज सेवा दिने वातावरण बनाउनु सबै पक्षको दायित्व हो । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले पनि निजी मेडिकल वा अस्पतालभन्दा आफू कार्यरत सरकारी सेवालाई प्राथमिकता दिन जरुरी छ । अस्पतालको ड्यूटी अवधिमा निजी क्लिनिक जान बन्द गर्नै पर्दछ । यस्तै अस्पतालमा नभएको सेवाका लागि आफ्नो क्लिनिकमा रिफर गर्नेजस्ता काम पनि बन्द हुन जरुरी छ । सरकारी स्वास्थ्य सेवा प्रभावकारी बनाउने दायित्व कुनै एक पक्षको मात्र हुन सक्दैन ।

पछिल्लो केही दिनदेखि अस्पतालको सेवालाई लिएर केही युवाहरुले धर्ना थालेका छन् । उनीहरुको यो कर्मले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा हेटौंडा अस्पतालमा कार्यरत कर्मचारीले काम गर्ने वातावरणमा असर परेको गुनासो आएको छ । जनशक्ति कम भएको र भएका कर्मचारीले सहजरुपमा काम गर्न नसकेपछि सेवा थप प्रभावित हुने खतरा छ । केही सर्वसाधारणले अस्पतालका केही कर्मचारीलाई बाटो छेक्ने, रोक्ने र धम्की दिनेजस्ता कर्म भएको भन्दै अस्पताल प्रशासनले गुनासो गरेको छ । सेवाका लागि आरोप प्रत्यारोपभन्दा गुणस्तरीय सेवाका लागि नीतिगत सुधार हुन आवश्यक छ । आवेशभन्दा सहजरुपमा सेवा लिने दिने वातावरण बनाउनु पर्दछ । अस्पतालमा कुनै प्रकारको अवरोध सेवाप्रवाहका लागि सहज हुन सक्दैन ।