हेटौंडाः बागमती प्रदेश सरकारले स्थापना गरेको प्रयोगशालामा कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्न सकिने भएको छ । संघीय सरकारले उपलब्ध गराएको उपकरणका साथै प्रदेश सरकारले पनि आवश्यक उपकरण खरिद गरी हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा प्रयोगशाला तयार पारिएको बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रयोगशालामा एक पटकमा ६० वटासम्म नमूना परीक्षण गर्न सकिने र परीक्षणको रिपोर्ट ३ घण्टामा प्राप्त गर्न सकिनेछ । तर, प्राप्त रिपोर्टलाई विश्लेषण गरेर कोरोना परीक्षणको अन्तिम नतीजा आउन भने करिब एक दिन नै लाग्ने बताउनुभयो । संघीय सरकारले नै उपलब्ध गराएको किटबाट कोरोना संक्रमणको परीक्षण गरिने उहाँले बताउनुभएको छ ।