हेटौंडाः हेटौंडा उपमहानगरपालिकामा रितम्बरा आयुर्वेद अस्पताल बन्ने भएको छ । हेटौंडा उपमहानगरपालिकाको शनिबार बसेको कार्यपालिका बैठकले नगरभित्र आयुर्वेद अस्पताल निर्माण गर्ने निर्णय गरेको हो । कार्यपालिका बैठकले हेटौंडा–१४ मा अस्पताल निर्माणको लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।
यस्तै, बैठकले उपमहानगरपालिकाको प्रवक्तामा सर्वसम्मतरुपमा हेटौंडा वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपानेलाई चयन गरेको छ । उपमहानगर भित्र इलेक्ट्रिक सवारी साधन चार्जीङ स्टेशन निर्माण गर्ने निर्णय गरेको छ । सवारी साधन चार्जिङ स्टेशनको लागि कार्यविधि निमार्ण गर्न सैद्धान्तिक सहमति भएको छ ।
यस्तै, उपमहानगरपालिकाको कार्यपालिका बैठकले ५ वटा कार्यविधि कार्यान्वयन गर्ने निर्णय गरेको छ । फोहोर व्यवस्थापन कार्यविधि, विपद व्यवस्थापनको लागि नगर आपतकालीन कार्य सञ्चालन केन्द्र कार्यविधि, विपद व्यवस्थापन कोष सञ्चालन कार्यविधि, ऋण लगानी र असुली सम्बन्धी कार्यविधि र स्थानिय पाठ्यक्रम कार्यान्वयन गर्ने निर्णय भएको प्रवक्ता न्यौपानेले बताउनुभयो ।











