हेटौंडाः हेटौंडा–भीमफेदी–काठमाडौं रुटमा सुमो चलाउने २ जना चालकले लागुऔषध सेवन गरी सवारी चलाएको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आइतबार हेटौंडा–भैंसे सडक खण्डको हेटौंडा–१ स्थित प्रहरी चौकी अगाडि परीक्षण गर्दा २ जनाले लागुऔषध सेवन गरी सवारी चलाएको पाइएको जनाएको छ ।

सवारी चालकहरुले लागु पदार्थ सेवन गरी सवारी चलाउने गरेको भन्ने जनगुनासो आएपछि प्रहरीले परीक्षण सुरु गरेको जनाएको छ । २४ जना चालकलाई परीक्षण गर्दा २ जनाले लागुऔषध सेवन गरेको पाइएको हो । प्रहरीले दुईजना चालकलाई कारवाही गरेर सुमोमा अर्कै चालक व्यवस्था गरी यात्रुलाई गन्तव्यतर्फ पठाइएको जनाएको छ ।











