मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे ।

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले संघीयता कार्यान्वयनका लागि संघीय सरकारका प्रधानमन्त्री र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बीच झगडा हुनुपर्ने बताउनुभएको छ । संघीय सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीकै कारण पछिल्लो ५ वर्ष प्रदेश सरकार र स्थानीय सरकारले अधिकार प्राप्त गर्न नसकेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘संघीयता कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी प्रधानमन्त्रीको भन्दा पनि संघीय मामिला मन्त्रीको हो । त्यसैले संघीयता कार्यान्वयन गर्नकै लागि भने पनि संघीय मामिला मन्त्री र प्रधानमन्त्रीबीच मन्त्रिपरिषद् बैठकमै झगडा हुनुपर्छ ।’

बागमती प्रदेशका स्थानीय तहमा निर्वाचित प्रमुख तथा उपप्रमुखका लागि आयोजित अभिमुखीकरणको समापन समारोहलाई मंगलबार हेटौंडामा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई अधिकार हस्तान्तरण नगरेका कारण संघीयताको मर्मअनुसार काम हुन नसकेको दावी गर्नुभयो । वर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ संघीयता बुझेको, संघीयता कार्यान्वयन गर्ने क्षमता राख्नुहुने भएकोले प्रधानमन्त्रीसँग झगडा गरेर भए पनि संघीयता कार्यान्वयन गर्नुपर्ने मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

लम्की झम्की नगरी कामै नहुने अवस्था रहेको औँल्याउनुहुँदै उहाँले स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखलाई सरल व्यवहार प्रस्तुत गर्न, जनताको कुरा सुन्ने धैर्यता राख्न आग्रह गर्नुभयो । मुख्यमन्त्री पाण्डेले जनताकै मतबाट निर्वाचित भएर जनताका अगाडि अभद्र र म ठूलो हुँ भन्ने भाव नराख्न पनि सल्लाह दिनुभएको छ । प्रधानमन्त्री र जनताको मत बराबरी भएकोले जनताको सेवाको स्तर बढाउन पनि उहाँको आग्रह छ ।

मुख्यमन्त्री पाण्डेले अब पालिकाका उपाध्यक्षहरुका लागि न्यायिक समितिसम्बन्धी अभिमुखीकरण र वडा अध्यक्षहरुका लागि पनि अभिमुखीकरणको कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो । संघीयतामा सबैभन्दा बढी जिम्मेवारी र अधिकार वडा अध्यक्षलाई भएको पनि उहाँको बताउनुभयो ।